नेपालगञ्ज प्रदेशको राजधानी नभए कर्णाली जाने उप–महानगरको नीति तथा कार्यक्रम पारित

१० असार २०७७, बुधबार १९:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले प्रदेश ५ को राजधानी नेपालगञ्जलाई घोषणा नगरे कर्णाली प्रदेशमा समाहित हुने राजनीतिक निर्णयसहितको नीति तथा कार्यक्रम पारित गरेको छ ।

बुधबार भेरी प्राबिधिक शिक्षालयको सभा हलमा भएको ७ औं नगरसभामा नगर प्रमुख डा. धवलशम्शेर राणाले प्रदेशको राजधानी नेपालगञ्ज घोषणा नगरे कर्णालीमा समाहित हुनुको बिकल्प नभएको उल्लेख गर्दै कोबिड–१९ को महामारीलाई परास्त गर्नको लागि कृषि र स्वास्थ्यमा जोडदिदै आगामी आर्थिक वर्ष २०७७ को नीति तथा कार्यक्रम ल्याएका हुन ।

राजधानीको विषय राजनीतिक मुद्धा भएपनि नीति तथा कार्यक्रममा उपमहानगरले पहिलो पटक समावेश गरेको हो । नगर प्रमुख डा राणाले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ का कारण आन्तरिक आय अनुमानित भन्दा कम संकलन भएको, सङ्घ तथा प्रदेशबाट साविक भन्दा न्यून बजेट सिलिङ्ग प्राप्त भएकाले सिमित बजेटको आधारमा यथाशक्य सबै विषयगत क्षेत्रलाई समेट्ने गरि कार्यक्रम पेश गरिएको जानकारी दिए ।

उनले कोभिड– १९ को महामारीबाट प्रभावित उपमहानगरका करदातालाई उचित छुट दिइने कार्यक्रममा उल्लेख गरिएको बताउदै कोबिड–१९को प्रभावलाई निरुत्साहित गर्नको लागि करदातालाई छुट दिने नीति ल्याएको बताए ।


उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । यसैगरी स्वास्थ्य संस्था निर्माण र स्वास्थ्य सेवा प्रभावकारी बनाईने, भौतिक पूर्वाधारमा चक्रपथ निर्माणको काम अघि बढाउने, पक्की सडक र नाला निर्माण कार्यलाई निरन्तरता दिने, सडक मापदण्ड तयार गरि कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

विपन्नको आयस्तर उकास्न विपन्न वर्गसँग स्थानीय सरकारको अवधारणमा साझेदारी विकास कार्यक्रमलाई परिस्कृत र सघन रुपमा अघि बढाउने उल्लेख गरिएको छ । कार्यक्रममा कृषि र पशुपालनलाई प्राथमिकता दिदै कृषकलाई प्रोत्साहन गरिने रहेको छ ।

यसैगरी विद्यालय समायोजन तथा छात्रा विद्यालय र कलेज निर्माण सम्पन्न गरिने संचालन गरिने उल्लेख गरिएको छ । नेपालगञ्जलाई ५ नम्बरको राजधानी बनाउन पहल गर्ने भन्दै अन्यथा कर्णाली प्रदेशमा समाहित हुन आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल गर्ने कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत पारित भएको प्रबक्ता प्रमोद रिजालले जानकारी दिए ।

Next Post

भारतबाट नौ थान मोबाईल लिएर आउने एक पक्राउ

१० असार २०७७, बुधबार १९:५७
सदरलाइनडटकम, नेपालगञ्ज : ईलाका प्रहरी कार्यालय जमुनाहले भारतबाट लुकाई छिपाई ल्याउदै गरेको करिव अढाईलाख बजार मुल्य बराबरको ९ थान मोबाईल सहित एक व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको छ । बुधबार साँझ करिव ५ बजेको समयमा ईप्रका जमुनाहका ईन्चार्ज बिष्णु गिरीको कमाण्डमा रहेको टोलीले नेपालगन्ज–१५ जमुनाह चोकबाट भिभो वाई १२ मोडलको […]