सदरलाइन / रुद्र सुवेदी,
जानकी (बाँके) : बाँकेको जानकी गाउपालिका वडा नंम्बर १ बढैया गाउको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका ब्यक्तिलाई सर्पले डसेको छ । उपचारको लागि अस्पताल लैजान एम्बुलेन्स अभावमा रातभर गुरुवाको भरमा झारफुक गरेर राखेर बिहान मात्र अस्पताल लगिएको थियो ।
नेपाल राष्ट्रिय प्राथामिक विद्यालयको कक्षा १ को कोठामा बसेका ती युवकलाई गएराती सर्पले डसेको हो । सो क्वारेन्टाईनमा अहिलेसम्म तीन पटक सर्पले आतङ्क मच्चाएको वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।
१९ जनालाई राखिएको सो क्वारेन्टाईन स्थलमा पटक–पटक सर्प देखिदैं आएका थिए । सोमबार राती १० बजे क्वारेन्टाईनमा रहेका ब्यक्तिलाई करेत जातको विषालु सर्पले टोकेको वडाध्यक्ष राईले बताए ।
सर्पले टोकेलगत्तै उपचारको प्रयास गरे पनि सम्बन्धित पक्षले आफुलाई सहयोग नगरेकोकारण मंगलबार बिहान ८ बजेमात्र एम्बुलेन्स मार्फत उपचारको लागि अस्पताल पठाईएको उनले जानकारी दिए ।
‘राती क्वारेन्टाईनमा बसेका ब्यक्तिलाई सर्पले टोकेको खबर आयो उठेर क्वारेन्टाईन पुगे बिरामीलाई अस्पताल लैजानका लागि एम्बुलेन्स बोलाउन धेरै ठाउमा फोन गरे कसैले चासो देखाएनन बल्लतल्ल विहान ८ बजे मात्र एम्बुलेन्स आएपछि अस्पताल लैजान सकियो’–उनले भने–‘ राती नै विरामी तलमाथि भएको भए जिम्मेवार को हुन्थ्यो ।’ सर्पले डसेको ब्यक्तिको भेरी अस्पतालमा उपचार भई रहेको र अवस्था सामान्य रहेको छ ।
वडाध्यक्ष राईले गाँउपालिका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका जिम्मेवार पदाधिकारी सबैलाई राती नै सम्पर्क गर्न खोजेपनि कोही सम्पर्कमा नआएपछि मंगलबार बिहान मात्रै ति ब्यक्तिलाई भेरी अस्पताल लगिएको बताए ।
उनले रातीको समयमा अस्पताल लैजान सम्भव नभएपछि स्थानीय ‘गुरुवा’को मदतले विष झार्ने काम गरीएको र बिहान एम्बुसेन्स आएपछि अस्पताल पठाइएको जानकारी दिए ।