रमजानको सबै प्रकृया घरमै पुरा गर्न मुस्लिम संगठनको अपिल

८ जेष्ठ २०७७, बिहीबार ११:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ को महामारीबाट जोगिनको लाागि मुस्लिम अगुवा तथा मुस्लिम संगठन नेपालले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानका सबै प्रकृयालाई घरमै पुरा गर्न आग्रह गरेको छ ।

संगठनले कोरोनाले निम्त्याएको विषम परिस्थितीका बीच आएको आफुहरुको पवित्र चाड रमजान सादगीका साथ मनाउन समुदायमा अपिल गर्दै अलबिदाको नमाज र इदुल फित्रको नमाज संक्रमण फैलिने खतरा रहेको भन्दै घरघरमै बसेर मनाउन विज्ञप्ती मार्फत आग्रह गरेको हो ।

मुस्लिम संगठनले कोरोना महामारीका कारण निम्तिएको विषम परिस्थितीमा आफ्ना धर्म संस्कार पनि सादगीका साथ मनाउन आग्रह गरेको छ । संगठनले जारी गरेको विज्ञप्तीमा रमजान र उपासना (इवादत) को समयमा पुरानै लुगा लगाएर त्यसवाट बचेको पैसाले असहाय वा विपन्नलाई सहयोग गर्न अपिल गरेको छ ।

संगठनले जारी विज्ञप्तीमा भनेको छ,‘वर्तमान परिस्थितिमा पवित्र महिना रमजान र यहाँहरुको उपासना (इवादत) को खुशीमा इदको लागि नयाँ लुगा नलिउ हामी यहि पैसा बचत गरेर आवश्यक, असहाय, गरिबका लागि महादान गरौ ।’


कोरोनाका कारण मुलुक नै आर्थिक मन्दीमा परेको बेलामा मुस्लिम समुदायवाट गरिने यो सहयोग निकै ठूलो हुने संगठनले विश्वास लिदै संगठनले रमजानको अन्तिम शुक्रवारको नवाज र इदुल फित्रको नमाज कसरी सम्पन्न गर्ने भन्ने विषयमा पनि धर्मगुरु र प्रशासनका अधिकारीबीच सल्लाह गरेर निर्णय गरिने उल्लेख गरिएको छ ।

संगठनले कोरोनाको समयमा हुने गरेका गलत अफवाहको पछि नलाग्न र त्यस्ता सूचना प्रवाह गर्नेहरुका बारेमा तत्काल प्रशासनलाई जानकारी दिन पनि आग्रह गरेको छ । प्रशासनले सहयोग चाहेको बेलामा सहयोग उपलब्ध गराउन र विदेशवाट आएकाहरुका वारेमा पनि जानकारी दिन समुदायलाई आग्रह गरेको छ ।

संगठनका संयोजक सेराज अमद फारुकी र सहसंयोजक अतहर हुसैनको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा मुस्लिम समुदायलाई लक्षित गरी धर्म र समुदाको आस्था खलबल्याउने गरी आएका समाचार प्रति सरकारको ध्यानाकर्षण पनि गराइएको छ । त्यस्तो अफवाह फैलाउनेलाई कारवाहीको माग गरीएको छ । एक ब्यक्तिको कमजोरीलाई लिएर पुरै समुदाय प्रति लक्षित गर्न नहुने संगठनको भनाई छ । साथै महामारीको बेलामा अत्यावश्यक वस्तुहरुको आपुर्ती सहज बनाउ र संक्रमितको ब्यक्तिगत गोपनियता भंग गर्नेहरुलाई पनि कारवाहीको माग गरिएको छ ।

यसैबीच मुस्लिम अगुवा तथा धर्मगुरु मुफ्ती कैफुलबरा मिस्वाही, मौलाना अबदुल जब्बार मन्जरी, हाजी अब्दुल हमिद सिद्दिकी, मोहमद हारुन, मेराज अहमद हिमालय लगायतले कोरोना संक्रमणबाट जोगिन विषम परिस्थितिमा घरमै अलबिदाको नमाज तथा ईदको नमााज पढ्न समुदायलाई आग्रह गरेका छन् ।

Next Post

करिब तीनहजार नेपाली जमुनाहनाका हुदै नेपाल आए

८ जेष्ठ २०७७, बिहीबार ११:४५
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ को महामारीका करण भएको लकडाउको प्रभावमा भारतका विभिन्न प्रान्तमा रहेका नेपालीहरु नेपाल आउन सुरु गरेका छन् । यसक्रममा जमुनाह नाकाबाट करिव ३ हजार नेपाली नागरिकलाई प्रवेश गराई उनीहरुलाई आ–आफ्नो जिल्ला पठाईएको छ । सोही संख्यामा रहेका भारतीय मजदुर भारत गएका छन । बाँकेका सहायक प्रमुख जिल्ला […]