सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमितको नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन हजार तीन सय ७४ पुगेको छ भने अहिलेसम्म ७७ जनाको ज्यान गएको छ । कोरोना संक्रमितमध्ये अहिलेसम्म दुई सय ६६ जना निको भएको अधिकारीहरुले बताएका छन् ।
भारतमा आइतवार तीन जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना कारण विश्वभर १२ लाखभन्दा धेरै मानिस संक्रमित भएका छन् भने ६४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । त्यस्तै दुई लाख ४६ हजार ६ सयभन्दा बढी निको भएका छन् ।
