सदरलाइनडटकम,
नेपालगञ्ज : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व बिहीवार श्रद्धाभक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरसको महामारीले अहिले देशै लकडाउन भएका कारण यस वर्ष रामनवमीका अवसरका मन्दीरहरुमा भक्तजनहरु जाने अवस्था नरहेको हुनाले घरमै श्रद्धा पूर्वक रामको पूजा गरेर मनाउँदै छन् ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो ।
वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व राम जस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेका बताउँछन् ।
श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गर्ने परम्परा छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)