प्रयोगमा नआउँदै बिग्रियो चिस्यान केन्द्र

सदरलाइन संवाददाता २६ आश्विन २०८०, शुक्रबार १३:४७
 

दाङ : दाङको दङ्गीशरण गाउँपालिका–३, हेकुलीमा किसानले उत्पादन गरेका तरकारी र फलफूल राख्नका लागि निर्माण भएको चिस्यान केन्द्र प्रयोगमा नआउँदै बिग्रिएको छ । गलत डिजाइन र उपयुक्त ठाउँ छनोट नगरी चिस्यान केन्द्र बनाउँदा निर्माण भएको एक वर्ष नबित्दै भवन बिग्रिएको हो ।

चिस्यान केन्द्रको दक्षिण फर्केको भवन एउटा कुनाबाट भासिँदै गएको छ भने अर्को कुना जमिनभन्दा माथि उठेको छ । स्थानीयका अनुसार जग हाल्ने बेला भवनको पूर्वी भाग र पश्चिमी भागको सतह बराबर थियो । स्थानीय अम्बिका वलीले अहिले एकापट्टिको भाग उकासिँदै गएको भएर होला जस्तापाताको छाना पनि बाङ्गिएको बताए ।

चिस्यान केन्द्र बनेको सुरुदेखि नै देखेको भन्दै वलीले भने, “सुरुमा भवनको भुइँको तह बराबर थियो तर अहिले ढोका माथि माथि उचालिँदै उक्लनै नसक्ने भइसकेको छ । पानी परेपछि ढोकापट्टिको भाग माथि जान्छ ।” करिब एक करोड रुपियाँको लागतमा तयार भएको भवन कामै नलाग्ने भएको छ । दङ्गीशरण गाउँपालिका वडा नं. ३ का अध्यक्ष सकुलाल चौधरी गलत इन्जिनियरिङका कारण चिस्यान केन्द्र काम नलाग्ने भएको बताउँछन् । उनका अनुसार चिस्यान केन्द्र करिब चार वर्ष पहिले निर्माण सुरु भएर गत वर्ष असोजमा सम्पन्न भएको थियो ।

गाउँपालिकाका इन्जिनियर प्रमोद गौतमका अनुसार दुईतले चिस्यान केन्द्रका लागि गाउँपालिकाको आधा र प्रदेश सरकारको आधा लगानीमा निर्माण भएको हो । करिब ९२ लाख रुपियाँको लागतमा घोराहीको लोकमणि बिल्डर्सले निर्माणको ठेक्का पाएको थियो । उसले आफूले नगरी पेटी ठेकेदारको रूपमा स्थानीय वसन्त वलीलाई निर्माणको जिम्मा दिएको थियो । चिस्यान केन्द्र प्रयोगमा नआई काम नलाग्ने भइसके पनि निर्माण कम्पनीले रकम भुक्तानी पाइसकेको इन्जिनियर गौतम बताउँछन् ।


ठेकेदार कम्पनीको साढे चार लाख धरौटी भने बाँकी छ । इन्जिनियर गौतमले जमिनमुनिको पानीको उतारचढाव ख्याल नगरी गलत डिजाइनका आधारमा बनाइँदा समस्या भएको बताउँछन् । इन्जिनियर गौतमले भने, “चिस्यान केन्द्र बनाउँदा हिउँदमा पानीको लेभल हेरियो होला तर साउनमा त्यो ठाउँमा पानी जमेर पानीको लेभल तलमाथि हुन्छ भन्ने कुरा ख्याल गरिएन, जसले गर्दा अहिले चिस्यान केन्द्रको भवन कामै नलाग्ने भएको छ ।”

समस्या उत्पन्न भएपछि डिपिआर गर्ने मुनलाइट कन्सल्टेन्सीलाई पत्र काटिएको उनी बताउँछन् । डिपिआर गर्ने दक्ष जनशक्तिको अभाव र चिस्यान केन्द्र कसरी बनाउने भन्ने पर्याप्त प्राविधिक ज्ञान नभएकाले पनि यस्तो समस्या आएको इन्जिनियर गौतम बताउनुहुन्छ । स्थानीयले गलत काम गर्नेलाई कारबाहीको माग गरेका छन् ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीले अघिल्लो कार्यकालमा निर्मित संरचना भए पनि अहिले आफूले समेत आलोचना खेप्नु परिरहेको बताउँछन् । गाउँपालिका अध्यक्ष गिरीले भन्नुभयो, “चिस्यान केन्द्र राम्र्रै उद्देश्यका लागि निर्माण गरिएको थियो तर ठाउँ उपयुक्त छनोट नहुँदा अहिले चिस्यान केन्द्र प्रयोगविहीन बनेको छ । जसले गर्दा एकातिर राज्यको करोडौँ रकम खेर जाने अवस्था छ भने अर्कोतिर जनप्रतिनिधिले गाली खानु परेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विजयादशमीमा नौ दिन पुजा गरिने दुर्गाको मूर्ति तयार पारिँदै

२६ आश्विन २०८०, शुक्रबार १३:४७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा –८ महेन्द्रपार्कका छोटु केवट र उनका दाजु सुरज केवटको एक महिना यताको दैनिकी फेरिएको छ । नेपालगञ्जको महेन्द्रपार्क नजिकै दुई दाजुभाइ विजयादशमीको स्थापना गरिने दुर्गा भवानीको मूर्ति (प्रतिमा) बनाउन दिनरात ब्यस्त रहेका छन् । बाँकेलगायतका तराईका जिल्लामा विजयादशमीको घटस्थापनाको भोलिपल्ट द्वितीया दिनमा सहरका चोक तथा […]