सदरलाइनडटकम,
बुटवल : कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश नम्बर पाँचको सरकारले रुपन्देही, बाँके र दाङमा आइसोलेशन अस्पताल बनाउने निर्णय गरेको छ । कोभिड १९ को पूर्व तयारी , प्रतिकार्य र नियन्त्रणका लागि बाँकेमा २ रुपन्देहीमा ३ र दाङमा एउटा अस्पताल बनाउने निर्णय प्रदेश सरकारले गरेको हो ।
अस्पताल बनाउनका लागि बुटवलको धागो कारखाना, भैरहवाको भिम अस्पताल, देवदहमा रहेको देवदह बहुमुखी क्याम्पस रुपन्देहीका लागि तोकिएको छ । यी अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी मेडिकल कलेज र निजी अस्पतालबाट जनशक्ति व्यवस्थापन गरिने छ ।
बाँकेमा अर्बुद रोग अस्पताल र नेपाल प्रहरीको अस्पताल तथा दाङको बेलझुण्डीमा रहेको आर्युर्वेद अस्पताल तोकिएका छन् । यी अस्पतालमा भेरी अस्पताल, बाँके जिल्लामा रहेका मेडिकल कलेज तथा राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट जनशक्ति व्यबस्थापन गरिने छ ।
