जमुनाहा–रुपईडिहा नाकामा यातायात ठप्प

५ चैत्र २०७६, बुधबार १६:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय सीमासँग जोडिएको बाँकेको जमुनाहा नाकामा बुधवार विहानदेखि आवागमनमा कडाई गरिएको छ । मानिसहरुलाई पैदल मात्रै यात्रा गर्न दिइएको छ । अत्यावश्यकीय सवारी साधनबाहेक अन्य सवारी साधनमा रोक लगाइएको छ ।
नेपालगञ्जको चौलिक्का चोकदेखि करीब दुई किलोमिटरको दुरीमा रहेको नाकासम्म तीनस्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ । दैनिक किनमेलका लागि सीमापारी रुपइडिहा जानेहरुको संख्या न्यून भएको छ । सीमामा कडाईका बावजुद केही ब्यक्तिहरु पैदलै सीमापार पुगेका छन् ।
स्थानीय प्रशासनले गृहमन्त्रालयको निर्देशनअनुसार नेपालगञ्जबाट भारतको नयाँ दिल्लीसम्म सञ्चालन हुने नेपाल–भारत मैत्री बस सेवा पनि बन्द गराएको छ । उत्तरप्रदेश राज्यको लखनऊमा कोरोना भाईरस देखिएपछि स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक भारत नजान सार्वजनिक अपिल समेत गरेको छ ।
विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको जोखिमलाई दृष्टिगत गर्दै मुख्य नाकाबाहेकका सम्पूर्ण नाकामा आवागमन बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।
रुपईडिहास्थित सशस्त्र सीमा बल एसएसबीका प्रहरी निरीक्षक धर्मेन्द्र सिंहले भारतीय सरकारका तर्फबाट सीमामा आवागमनका लागि नेपालीहरुका लागि कुनै रोकतोक नभएको जानकारी दिए । सीमामा नेपालतर्फ र भारततर्फ हेल्थडेस्कमार्फत आवागमन गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिइएको छ ।

Next Post

उपचारमा संलग्न डाक्टरलाईनै कोरोना

५ चैत्र २०७६, बुधबार १६:४६
सदरलाइनडटकम, काठमाण्डौ : भारतको लखनऊमा बिरामीको उपचारमा संलग्न एक जना डाक्टरलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गरिरहेका मेडिसिन विभागका डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको हो । ती डाक्टरमा कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई अहिले आइसोलेशन वार्डमा […]