सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा इतिहास झल्काउन घोडाको प्रतिमा राखिएको छ । घोराही उपमहानगरपालिकाले वडा नम्बर १४ र १५ को सिमाना गुम्राह चोकमा दुईवटा घोडाको प्रतिमा राखेको हो ।
चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटलाई टेण्डरमार्फत २५ लाख रुपैयाँको लागतमा घोडाको प्रतिमा राखिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । नशला ह्याण्डिक्राप्ट काठमाण्डौले घोडाको प्रतिमासहितको संरचना निर्माण गरेको हो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शनिवार घोडाको प्रतिमा अनावरण गरे ।
घोडाहरु पालन गर्ने क्षेत्र बिस्तारै बस्ती विकाससँगै शहरीकरण हुँदै गर्दा घोराही नामाकरण भएको जानकारहरुको भनाई छ । यस्तै तुलसीपुर चोक भन्दै आएको क्षेत्रमा पनि घोडाको प्रतिमा राखेर घोराही चोक नामाकरण गरिएको उपमहानगरले जनाएको छ ।
