सदरलाइनडटकम,
काठमाण्डौ : हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ । राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर मृत्यु भएको बीबीसीले जनाएको छ ।
१३ जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । स्थानीय इन्स्टिच्युट फर सोसियल वेलफेयरका निर्देशक एरिएल जोन्टी भिल्ड्रेनले अनुमति बिनानै सञ्चालन गरिएको अनाथालयमाआगलागीका बेला ६० जना बालबालिका रहेको जानकारी दिए ।
बाँकी ४५ जनाको परिवारको खोजी गरेर जिम्मा लगाउने तयारी गरिएको छ । धर्मको प्रचार गर्दै आएको अमेरिकाको पेन्सिल्भानियामा रहेको चर्च अफ बाइबाल अण्डरस्ट्याण्डिङ नामक संस्थाले अनुमति बिनै सञ्चालन गरेको अनाथालयमा आगलागी भएको हो । आगलागिको कारण खुलेको छैन । अनाथालयमा बिजुलीको सट्टा मैनबत्ती बाल्ने गरिएको त्यहाँका कर्मचारीले बताएका छन् ।
