अनशनरत सांसद गौतमको शरीरमा पानीको मात्रा कम

सदरलाइन संवाददाता ४ जेष्ठ २०८०, बिहीबार १२:५६
 

बर्दिया : कांग्रेस सांसद सञ्जयकुमार गौतमको अनशन छैटौं दिनमा प्रवेश गरेको छ । तत्काल पुल निर्माणलगायतका माग गर्दै अनशनमा बसेका कांग्रेस सांसद गौतमको स्वास्थ्य अवस्थामा सामान्य असर देखिन थालेको चिकित्सकले बताएका छन् ।

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेयका अनुसार गौतमको शरीरमा पानीको मात्रा घट्न थालेको छ । स्वास्थ अवस्था नाजुक बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी नारायण रिसाल, प्रहरी उपरीक्षक सुदीप शाहीलगायत चिकित्सकको टोली अनशनस्थल पुगेका छन् । सांसद गौतमले माग पूरा नभएसम्म स्लाइन पानी नचढाउने अडानमा रहेका छन् ।


बबई नदीको जब्दीघाट आसपासमा नयाँ पुल निर्माण,गुलरिया र भारतको मुर्तिहा नाका सञ्चालन, नदी नियन्त्रणका लागि पर्याप्त बजेट,बबई सिँचाइमा बजेट कटौती नगर्न, भुरीगाउँ—तेलपानी सडक निर्माणलगायत १५ बुँदे माग राख्दै वैशाख ३० गतेदेखि सांसद गौतम अनशन बसेका हुन् । उनका मागप्रति राज्य बेखबर भएको भन्दै सत्याग्रह अभियानमा ऐक्यबद्धता जनाउँदै दिनहुँ दर्जन बढीले २४ घण्टे रिले अनशन पनि जारी राखेका छन् ।

यसैबीच गत असोज २० गते आएको बाढीले बगाएको स्पान भत्काउन सुरु गरिएको छ । उक्त स्पान नहटाउँदा वर्षा याममा बाढीले जब्दीघाट आसपासका गाउँ डुबानमा पर्ने जोखिम थियो । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले गौतमले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । सांसद गौतमको शारीरिक अवस्था जटिल हुँदै गएकोले तत्काल माग सम्बोधन हुनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा कुपोषित बालबालिकाको संख्या बर्षेनि बढ्दै

४ जेष्ठ २०८०, बिहीबार १२:५६
बैतडी : बैतडीमा कुपोषित बालबालिकाको संख्या बर्षेनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन् । बैतडीमा कुपोषित बालबालिकाको सङ्ख्या बर्षेनि बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । एक हजार ९३४ मध्ये ३१२ जना […]