सदरलाइनडटकम
७ फागुन, नेपालगन्ज : ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेको आयोजनामा नेपालगन्ज उप–महानगरपालिका–१९ को सुर्जी गाउमा बृहद स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
व्रिटीस इंग्लिस मिडियम हाइस्कुल परिसरमा आयोपजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सर्वसाधारणको घुइँचो लागेको देख्दा नगर क्षेत्रमै सर्वसाधारणहरु स्वास्थ्य सेवाको पहुँचबाट अझै पनि टाढा रहेको स्पष्ट भएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सोमबार विहान ८ बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालित सो शिविरबाट २ सय ४० जना महिला र १ सय ४१ जना पुरुष सर्वसाधारण गरी ३ सय ८१ जनाले लाभ लिएको आयोजक संस्था केन्द्रकी अध्यक्ष श्रीमती लता शर्माल जानकारी दिईन । सो शिविरमा सबभन्दा कम उमेर ३ महिनाको बालिकादेखि ९० वर्षिया वृद्धाले स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरेका छन् ।
सोही अवसरमा शिविरमा विद्यालयका विद्यार्थी र अभिभावकहरुको सहभागितामा नसर्ने रोग, जङ्ग फुड र यसबाट पर्ने स्वास्थ्य समस्या विषयगत सचेतना गोष्ठीको आयोजना पनि गरिएको थियो । गोष्ठीमा भेरी अञ्चल अस्पतालका मुटु रोग तथा मधुमेह राग विशेषज्ञ डा. विपिन आचार्यले सहजीकरण गरेका थिए ।
सो विद्यालयका प्रधानाध्यापक हेमन्तराज काफ्ले र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज शाहले केन्द्रद्वारा पहिलो पटक आफ्नो विद्यालयमा आयोजित यस किसिमको स्वास्थ्य सचेतना गोष्ठी र निःशुल्क स्वास्थ्य शिविरबाट आफ्नो विद्यालयका बालबालिका, अभिभावक र यस भेगका सर्वसाधारण लाभान्वित भएको स्पष्ट पारेका थिए ।
साविक बसुदेवपुर गाविस र नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत बसुदेवपुरको सुर्जी गाउँ, मन्नीपुर, कारकाँदो, लग्दहवा, धम्बोझी लगायतका ग्रामीण समुदायका सर्वसाधारण लाभान्वित भएको सो शिविरमा आँखाको दुखाई, कानबाट पिप बग्ने, पेट दुख्ने, जिउ चिलाउने, महिलाहरुको सेतो पानी बग्ने आदि समस्याबाट पीडितहरु बढी आएको सम्बन्धित चिकित्सकले जानकारी दिए ।
शिविरमा भेरी अञ्चल अस्पतालका मुटु रोग तथा मधुमेह रोग विशेषज्ञ डा. विपिन आचार्य, नेपालगन्ज मेडिकल कलेजका मेडिकल अधिकृत डा. घना के.सी., डा. रामबहादुर विष्ट र दीपक जायसवालले स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविर सञ्चालनको लागि सहयोग गर्नेहरुमा केन्द्रकी उपाध्यक्ष तारा के.सी., कोषाध्यक्ष ममता आचार्य, स्वास्थ्यकर्मीद्वय राजेन्द्र कुमार वर्मा र कृष्ण देवकोटा, नितेश गिरि, ललिता जैसी, रमणकुमार शर्मा, निखिल जायसवाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाह, संस्थापक सदस्य विमल प्रधान, प्रधानाध्यापक काफ्ले, शिक्षिकाहरु रेखा शाह, माया गिरि काफ्ले, विजय श्रेष्ठ लगायतको पनि सक्रिय सहयोग रहेको थियो ।