सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सेवाग्राहीको सुविधाका लागि एकद्वार प्रणालीको शुरुवात गरेको छ । सेवा प्रयोजनमा प्रक्रियागत कामका लागि विभिन्न फाँट चहार्नु पर्ने समस्याको अन्त्य गर्दै वितरण केन्द्रले एकद्वार प्रणालीको शुरुवात गरेको हो ।
सेवाग्राहीले अबका दिनमा एउटै ठाउँबाट सेवा पाउने वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बिहीवार नेपालगञ्ज वितरण केन्द्रमा एकद्वार प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा संस्थागत सुधार आइसकेको उल्लेख गर्दै उनले विद्युत प्राधिकरण ग्राहकमैत्री सेवा प्रवाहमा अघि बढ्ने बताए ।
डिभिजन प्रमुख ठाकुरले ग्राहक मात्र नभई सेवा दिन कर्मचारी स्वयं फाँटहरुमा गएर कार्य सम्पादनमा सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा नेपालगञ्ज वितरण केन्द्र प्रमुख लखनलला मल्लिकले बिहीवारदेखिनै सेवाग्राहीलाई फाँटफाँट चहार्नुपर्ने समस्याको अन्त्य भएको बताए ।