सदरलाइन / रुद्र सुवेदी ,
नेपालगञ्ज : कहिले फौजी किराको प्रकोप त रोपेको धान नपसाएर क्षती व्यहोरेका बाँके बर्दिया दांगलगायतका जिल्लाका किसानलाई हिउदे बालीमा समेत प्रकृतिले पनि ठगेको छ ।
गत मंसिर २७ गतेदेखि लगातार परेको पानीका कारण बाँके बर्दिया दांगलगायतका जिल्लाका किसानले लगाएको हिउदे बाली मसुरो, चना, राजमा जस्ता कोशेबालीलाई नोक्सान पारेको हो ।
कोशेबाली अनुसंधान कार्यक्रम खजुरा बाँकेका अनुसार हिउदमा परेको पानीका कारण कोशेबालिको उत्पादनमा ४० प्रतिशत ह्रास आउने गरी नोक्सान पुराएको जनाएको छ ।
काट्ने बेलाको धानमा लागेको फौजिकीराले बाँके र बर्दियामा मात्र १ हजार ६ सय ३० हेक्टरको धान बाली नष्ट गर्नुको साथै करिव ४ सय हेक्टरमा रोपिएको गरिमा जातको धान नपसाएर किसानलाई ठहरै पारेको बेला लगातारको हिउदे झरीको कारण कोशेबाली लगायत अन्य खेतीमा समेत प्रभावित बनाएको हो ।
कोशेबाली अनुसंन्धान केन्द्र खजुराका बरिष्ठ प्राविधिक अधिकृत रविन्द्र प्रसाद शाहले हिउदे वर्षातको कारण मसुरो, राजमा र चना जस्ता कोशेबालीलाई नोक्सान पुराएको बताए । उनले बर्षातको कारण गहिरो जमिनको सबै खेती नष्ट भएको तर, केही उचो जमिनमा भने ६० प्रतिशत बचेको हुनसक्ने आकलन गरिएको जानकारी दिए ।
उनले भने–‘हिउदे वर्षातको कारण बाँके र बर्दियामा कोशेबालीको उतपादनमा ठूलो ह्रास आउने देखिएको छ । मसुरो, चना, राजमा जस्ता खेतीलाई नोक्सान पुराएको हो ।’ उनले अत्याधिक वर्षातको कारण अनुसंन्धानको लागि तयार पारिएका विभिन्न पुस्ताको विउ खेती समेत नोक्सान भएको बताए ।
उनले बाँके बर्दियामा प्रतिहेक्टर सामान्य अवस्थामा १ दशमलभ २ टन उत्पादन दिने गरेकोमा हिउदे पानीका कारण प्रति हेक्टर अधिकतम ५÷६ सय किलो भन्दा बढी उत्पादन हुन नसक्ने बताए । पाँच नंम्बर प्रदेशमा मसुरो ७६, खेसरी ६, अरहर ५, चना ४, मास २, भटमास २ र राजमा तथा अन्य ५ प्रतिशत खेती हुने गरेको छ ।
फौजिकिराको प्रकोपको कारण बाँके बर्दियामा १ हजार ६ सय ३० हेक्टरको धान बाली नष्ट हुँदा ५ अर्व ८१ करोड ४१ लख बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र बाँकेका बालि विकास अधिकृत शकिल अहमदले जानकारी दिए ।
छिटो पाकेर धेरै फल्ने आशमा रोपिएको गरिमा जातको धान काट्ने बेलामा पनि नपसाएपछि बाँकेमा करिब ७० हेक्टर र बर्दियामा ३ सय ५० हेक्टरमा रोपिएको धान नपसाएको कृषि ज्ञान केन्द्र बाँकेका बालि विकास अधिकृत शम्भु नाथले जानकारी दिए ।
हिउदे झरीको कारण गहु, आलु, टमाटर जस्ता खेती समेत प्रभावित भएका छन् । लगातारको क्षति व्यहोर्न बाध्य प्रदेश पाँचका किसानले आफ्नो मेहनत र लगानीको बचत गर्नको लागि विकल्पको खोजी गर्दै बाताबरणमा आएको प्रतिकुलताको कारण चिसो तातो तथा लगातारको झरीलाई पनि थेग्न सक्ने जात पहिचान गरी खेती गर्न आवश्यक देखिएको छ ।
यसैबीच जल तथा मौशम विज्ञान कार्यालय फिल्ड अफिस नेपालगन्ज राँझाका अनुसार पटक पटक गरेर गत मंसिर २७ गतेदेखि माघको पहिलो सातासम्म १६६ दशमलभ ५ मिलिमिटर पानी परेको छ । कार्यालय प्रमुख पलबहादुर विकले मंसिर २८ गते सबै भन्दा बढी ९९ दशमलभ ४ मिलिमिटर पानी परेको र सो यता १० दिन पानी परेको जानकारी दिए ।