बाँकेमा २८ वटा खानेपानी आयोजना पुरा भई वितरण शुरु

सदरलाइन संवाददाता १० कार्तिक २०८०, शुक्रबार १५:०२
 

नेपालगञ्ज : बाँके जिल्लाका बढीभन्दा बढी नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८ वटा खानेपानी आयोजना सम्पन्न गरिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका अनुसार ती आयोजना पूरा भएपछि जिल्लाका १५ दशमलव ३२ प्रतिशत नागरिकले धाराको पानी पिउन पाएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका डिभिजन प्रमुख तिलक न्यौपानेले जिल्लामा सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा खानेपानी आयोजना निर्माण भई सञ्चालनमा आएको बताए ।

उनले त्यहाँ २२ वटा आयोजनाको निर्माण चलिरहेको र १३ वटा योजना निर्माण पूरा भई पानी वितरण शुरु गरिएको बताए । डिभिजन प्रमुख न्यौपानेका अनुसार खजुरा गाउँपालिकामा सञ्चालनमा रहेका पाँचवटा खानेपानी आयोजनाले पानी वितरण शुरु गरेका छन् । त्यहाँ १० वटा आयोजना अहिले निर्माणाधीन अवस्थामा छन् ।


खानेपानी तथा सरसफा डिभिजन कार्यालयका अनुसार त्यसैगरी, कोहलपुर नगरपालिकामा चार आयोजनाले पानी वितरण गरिरहेको छ भने पाँच आयोजना निर्माणाधीन छन् । बैजनाथ गाउँपालिकामा चार आयोजना पूरा भई पानी वितरण गरिरहेका छन् भने ६ वटा आयोजना निर्माणाधीन छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा खानेपानीका दुई वटा आयोजना पूरा भई पानी वितरण भइरहेको र चार आयोजना निर्माणाधीन अवस्थामा रहेको डिभिजन प्रमुख न्यौपानेले बताए । सोही प्रकारले जानकीमा ६, नरैनापुरमा नौ र डुडुवामा पाँच खानेपानी आयोजना निर्माण भइरहेका छन् ।

डिभिजन प्रमुख न्यौपानेले भने, ‘जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा २० वटा खानेपानीका आयोजना निर्माण भइरहेका छन्, तर अहिलेसम्म पानी वितरण भएको छैन ।’ गत आर्थिक वर्षसम्म बाँकेमा ६८ वटा खानेपानी आयोजना निर्माणाधीन छन् । बहुवर्षे आयोजना अन्तर्गत सञ्चालनमा रहेका यी आयोजनामध्ये चालू आर्थिक वर्षमा करिब ४० प्रतिशत सम्पन्न गर्ने लक्ष्य छ ।

चालू आर्थिक वर्षमा धेरैभन्दा धेरै आयोजना सम्पन्न गर्ने र बाँकेका २५–३० प्रतिशत नागरिकलाई पाइप प्रणालीको पानी पिउने पहुँच पुर्याउने योजना रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुको मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या

१० कार्तिक २०८०, शुक्रबार १५:०२
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका चार जनाको हत्या गरिएको छ । उनका अनुसार २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा […]