सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा सोमवारदेखि दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । शिक्षा, स्वास्थ्य र खेलकूद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान भन्ने मूल नाराका साथ शुरु भएको उक्त प्रतियोगिताको पूर्व खेलकुदमन्त्री दलजीत सिर्पालीले उद्घाटन गर्दै नारा झै खजुरा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
उनले समृद्ध नेपालका लागि समृद्ध खजुरा आवश्यक भएको बताउँदै खजुराले आफु खेल, शिक्षा, स्वास्थ्यलगायतमा कुरामा हब बनाउने उद्देश्यमा यस्ता प्रतियोगिताहरु सहयोगसिद्ध हुने बताए । खेल क्षेत्रमा अग्रणी भूमिकामा रहेको खजुरालाई आफु पदमा हुँदा नहुँदा जहाँ भए पनि सहयोग गर्दै खेल क्षेत्रमा नयाँ विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । पूर्व खेलकुदमन्त्री सिर्पालीले खेलाडी अब खेल खेलेरै बाँच्ने अवस्था सृजना भएको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश सांसद बाबुराम गौतम, आइपी खरेलले शिक्षा र खेलकुदको क्षेत्रको विकासमा खजुरा गाउँपालिकाको अभियानमा आफुहरुको साथ र सहयोग रहेको बताए । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुराले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिप्रस्र्धा गर्ने खेलाडी जन्माएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकास गरी गाउँपालिकालाई खेलकुदको हब बनाइने बताए ।
कार्यक्रममा शिक्षा विज्ञ भक्तबहादुर केसीले प्रतियोगितालाई सम्पन्न गर्न सबै जिम्मेवारीमा रहेका तथा खेलाडी विद्यार्थीलाई आग्रह गरे । व्यवस्थापनको जिम्मा पाएको विद्यालय अमर मावि व्यवस्थापन समितिका अध्यक्ष डम्बर विक तुफानलगायतले देश र विश्वमा चिनाउने अभियान मेयर रनिङ शिल्ड भएको बताए । आगामी माघ ३ गतेसम्म सञ्चालन हुने मेयर रनिङ शिल्ड प्रतियोगितामा आयोजना स्थल अमर मावि गौतमबस्ती सि गाउँमा विभिन्न विधाका खेलहरु संचालन भइरहेका छन् ।
प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ४ सय ६ विद्यार्थीहरुको सहभागिता जनाएका छन् । प्रतियोगिताका प्रथम, द्वित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मावितर्फ क्रमशः २० हजार, १० हजार र ७ हजार, आधारभूत तह १० हजार, ७ हजार ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी आधारभूतमा प्रथम, द्वित्तीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने स्रोत शिक्षक टंक दाहालले जानकारी दिए ।
विभिन्न विद्यालयको मार्च पास, खजुरा गाउँपालिका मिश्रित जातजाति र धर्मावलम्वीहरुको बसोवास क्षेत्र रहेकोले धार्मिक सद्भावको प्रतिकको रुपमा मेयर रनिङ शिल्ड खेलकूदको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गरिएको छ । त्यसैगरी खजुरा गाउँपालिकाको वडा नं. ६ गिजरा सामुदायिक वनमा पाइने विश्वकै लोपोन्मुख जनावर हुँडार (हाइना) लाई प्रतिक चिन्ह (मस्कट) को रुपमा राखिएको छ ।
शिक्षा, स्वास्थ्य र खेलकूद एकअर्काका परिपूरकका रुपमा रहेकाले र खजुरामा विविध जातजाति एवं भेषभुषा र संस्कृतिले सजिएको झाँकी तथा नौमती बाजा उद्घाटनमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीलगायतको सहभागिता रहेको थियो ।