थारु समुदायमा माघे संक्रान्तिको रौनक

२८ पुष २०७६, सोमबार १७:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : माघे संक्रान्तिको समय नजिकिएसँग पश्चिम नेपालको थारू बाहुल्य क्षेत्रमा माघे संक्रान्तिको रौनक शुरु भएको छ । माघे संक्रान्तिलाई नयाँ वर्ष र स्वतन्त्रता पर्वको रूपमा लिइने भएकोले थारू बाहुल्य क्षेत्रमा माघे संक्रान्तिको स्वागतका लागि विभिन्न कार्यक्रम, महोत्सव र खानपानको तयारी शुरु भएको छ ।
यसले पश्चिम नेपालको तराईका जिल्लामा माघे संक्रान्तिको चहलपहल बढेको छ । थारू जातिले माघे संक्रान्तिलाई पाँच दिनसम्म मनाउँछन् । यो पर्वको ऐतिहासिक महत्व जति छ धार्मिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै छ । पश्चिम तराईमा कमैया मुक्ति हुनुभन्दा पहिले कमैया बस्ने–नबस्ने निर्णय पनि यही माघे संक्रान्तिमा हुने गर्दथ्यो भने, अधिया खेत जोत्नेलाई खेतबारी दिने या नदिने निर्क्योल पनि माघे संक्रान्तिका अवसरमा हुने गर्छ ।
त्यसैले माघे संक्रान्तिलाई सामाजिक सद्भाव, मेलमिलाप, स्वतन्त्रता र सांस्कृतिक पर्वको रूपमा लिइन्छ । थारू समुदाय माघे संक्रान्ति पर्वलाई कम्तीमा पाँच दिन मनाउँछन् । पौष मसान्तको अघिल्लो दिन नजिकको तालतलैया, नदी, सागर वा कुलोमा गएर माछा मार्ने चलन छ । यसलाई थारू जातिले मच्छीमर्ना माघ भन्दछन् । माघे संक्रान्तिका दिन रातो मासु देखाउन हुँदैन भन्ने पौराणिक मान्यताअनुसार पुस मसान्तको दिन सुँगुर, बंगुर काट्ने प्रचलन छ । यो दिनलाई सुवर मर्ना माघ भनिन्छ ।
धार्मिक, सामाजिक र सांस्कृतिक पर्व माघ १ गते अर्थात् माघे संक्रान्तिको बिहान नदी, ताल र सागरमा गएर स्नान गर्ने कार्य नै माघे संक्रान्तिको मुख्य विशेषता हो । माघे संक्रान्तिमा नुहाउने दिनको अघिल्लो रात अर्थात् पुस मसान्तको रात मटावा (बरघर) को घरमा रातभर धुम्रु गीत गाउने र छोक्रा नाच नाच्ने परम्परा छ ।
नाचमा वृद्धवृद्धादेखि युवायुवती सहभागी हुन्छन् । रातभर जाग्राम बसेर नाचगान गर्नेहरू भालेको डाँकोसँगै नाचगान गर्दै नदी, ताल वा सागरमा गएर स्नान गर्छन् । स्नान गरिसकेपछि आफूभन्दा मान्यजनसँग टीका लगाउने र साइनोअनुसार ढोगसलाम गरी आशीर्वाद लिइन्छ । नदीमा नुहाउन गएकाहरुले सेतो टीका लगाउँछन् ।
थारू जाति प्रकृतिपूजक भएकोले चामलको सेतो टीका लगाउने चलन भएको थारू संस्कृति का अन्वेषक अशोक थारूले बताए । उनले थारू जाति प्रकृतिसँग नजिक भएकोले सेतो टीका लगाउने चलन चलेको बताए । (थाहाखबरबाट)


Next Post

शिक्षामा पहुंच बढेपछी पेशा परिवर्तन गर्दै चिडिमार समुदाय

२८ पुष २०७६, सोमबार १७:५७
सदरलाइन / लक्ष्मी तिमिलसेना, नेपालगञ्ज : जंङगलमा चराचुरुङ्गी खोजेर जीविकोपार्जन गर्ने नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरका चिडिमार समुदायले पछिल्लो समय शिक्षामा पुहुँच पुगेसंगै विस्तारै पेसा परिवर्तन गर्न थालेका छन् । सरकारले १ दशक अघि चराचुरुङ्गी मार्न प्रतिबन्ध लगाएपछि विस्तारै उनीहरुले आफ्नो पेशा परिवर्तन गर्न थालेका थिए । परापूर्व कालमा राणा शासकले चरा […]

सम्बन्धित