सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : पश्चिमी वायुको प्रभावले मंगलवार बाँकेसहित देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले मंगलवार पश्चिमी क्षेत्रमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने उनले बताइन् । यो प्रणाली आगामी शुक्रबारसम्मनै रहने भएकाले चिसो अझै बढ्ने उनले बताइन् । चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र झोलिलो पदार्थ खान डाक्टरहरुले सुझाव दिएका छन् ।
मंगलवार बाँकेको अधिकतम तापक्रम १८ दशमलव ५ र न्युनतम तापक्रम १० दशमलव ६ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै वीरेन्द्रनगरको १६ दशमलव ७ र न्युनतम ९ दशमलव ४, धनगढीको १७ दशमलव ६ र न्युनतम तापक्रम ११ दशमलव ५ रहेको छ ।
उता जुम्लाको ७ दशमलव ७ तथा न्युनतम ० दशमलव ३ छ भने दाङको अधिकतम १९ दशमलव ० र न्युनतम तापक्रम १० दशमलव १ मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।