सदरलाइनडटकम,
दैलेख : चितुवाको छालासहित दैलेखमा एकजना पक्राउ परेका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४, तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।
शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । उनका अनुसार शाहीलाई जिल्ला प्रहरी कार्यालय, दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट गएको संयुक्त टोलीले बुधवार दिउँसो चितुवाको छालासहित पक्राउ गरेको हो ।
शाहीको घरबाट ७ फिट ८ इन्च लम्बाई र २ फिट २ इन्च चौडाइ भएको पाटे चितुवाको छालासहित पक्राउ गरेको वलीले बताए । उनका अनुसार शाहीको घरबाट दुई किलो ३० ग्राम तौल रहेका ९५ वटा चितुवाको हड्डी पनि बरामद गरिएको छ । शाहीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दैलेखमा पठाइएको छ ।
