सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाँउपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले विरोधका लागि विरोध होइन सकारात्मक सोंचका साथ सामाजिक रुपान्तरणमा लाग्नु पर्ने बताएका छन् । खजुरामा स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाअन्तर्गत अध्ययनका परिणाम तथा सिफारिस सार्वजनिकीकरण गोष्ठीमा बोल्दै उनले सामाजिक जवाफदेहिताका लागि आफुले आफैलाई मूल्यांकन गर्नु पर्ने बताए ।
उनले खजुरामा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रको अवस्थामा सुधार आएको बताउँदै अब स्वास्थ्यसंग आवद्धहरुको ३÷३ महिनामा बैठक राखेर उपलब्धी, समस्या, कार्यसम्पादन लगायतका कुराको समीक्षा गरिने उल्लेख गरे । जनप्रतिनिधि र कर्मचारीले आफ्नो दायित्व बोध गरेमा सामाजिक जवाफदेहितामा टेवा पुग्ने बताउँदै अध्यक्ष कक्षपतिले सकारात्मक सोंचका साथ लाग्न आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख एकमाया विकले सामाजिक जवाफदेहिताका औजारको प्रयोग गरेर सेवाप्रवाह गरिने बताइन् । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सेवा प्रदायक र सेवाग्राहीबीच दूरी कम गर्न भए गरेका कमजोरी सच्याएर जानु पर्नेमा जोड दिए ।
खजुरा गाउँपालिकाको संयोजन, यू के आइडी, डिएफआइडीको सहयोग र प्याक्ट र साहसको सहजीकरणमा भएको कार्यक्रममा प्याक्टका दुर्लभकुमार बोगटीले सेवा सुधारका लागि सेवा प्रदायक, सेवाग्राही र नागरिकका प्रतिनिधिवीच सहभागितामुलक अन्तरक्रिया हुनु पर्नेमा जोड दिँदै राजनीतिक जवाफदेहिता र प्रशासकीय जवाफदेहिता हुनु पर्ने उल्लेख गरे ।
बासका मन भण्डारीले खजुरा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा गरिएको अध्ययन, अनुगमन, सर्वेक्षण तथा स्थिति विशेषलणबाट ४ बजेसम्म स्वास्थ्य संस्था खुल्ने पाइएको, नागरिक वडापत्रमा संसोधन गर्नु पर्ने अवस्था रहेको, केही स्वास्थ्यकर्मीको व्यवहारमा सुधार गर्नु पर्ने, खोपकेन्द्र थप र गाउँघर स्वास्थ्य क्लिनिक स्थापना गर्नु पर्ने मागहरु आएको बताए ।