नरैनापुरमा सीमा सुरक्षा तथा लागू औषधबिरुद्ध सचेतना

१८ मंसिर २०७६, बुधबार १८:४९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा सीमा सुरक्षा र लागू औषध सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा स्थानीयका लागि सीमा सम्वन्धी जानकारीका साथै लागू औषध विरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीको आयोजना तथा नरैनापुर गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रमका सहभागीहरुलाई सशस्त्र प्रहरी उपरिक्षक दीपक अधिकारीले सीमा सुरक्षाका लागि स्थानीयले ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए ।
उनले खुला सीमाका कारण हुन सक्ने लागू औषध ओसारपसार तथा सेवनलाई निरुत्साहित गर्न स्थानीय नै सचेत र जागरुक हुनुपर्ने बताए । सशस्त्र प्रहरी उपरिक्षक अधिकारीले सीमा स्तम्भ सुरक्षामा स्थानीयको विशेष दायित्व हुने भन्दै दशगजा क्षेत्रमा कुनै खालको अतिक्रमण हुन नहुने बताए ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल कट्कुइँयाका प्रहरी निरिक्षक गणेश भण्डारी तथा शसस्त्र प्रहरी बल गंगापुरका प्रहरी नायब निरिक्षक खगेन्द्र विकले अन्तर्राष्ट्रिय सीमा, सीमा स्तम्भ र दशगजाका बारेमा स्थानीयलाई जानकारी गराएका थिए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पछिल्लो एक बर्षमा लागूऔषध दुब्र्यसनीहरुले धमाधम कुलत छाड्दै सत्मार्गमा हिंड्ने प्रण गरिरहेको बताउँदै खुला सीमाका कारण बढेको जोखिम न्यूनीकरणका लागि गाउँपालिका गम्भीर रहेको बताए ।
उनले डुडुवादेखि नरैनापुरको हुलासपुर्वासम्मका केही सीमा स्तम्भ हराएकाले सीमा स्तम्भ पुनःस्थापनाका लागि भूमिका खेल्न सशस्त्र प्रहरी बललाई आग्रह गरे ।
नरैनापुरका सीमावर्ती स्थानीयहरु सीमाका असली रक्षक भएको बताउँदै अध्यक्ष शाहले आफ्नो जमिनको रक्षाका लागि सबै गम्भीर हुनुपर्ने बताए ।
दुई सय बढी स्थानीय सहभागी कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेख, ३ नम्बर वडाका अध्यक्ष राजकुमार मौर्य लगायत सहभागी भएका थिए ।

Next Post

अफिमसहित सल्यानमा दुई जना पक्राउ

१८ मंसिर २०७६, बुधबार १८:४९
सदरलाइनडटकम, सल्यान : ठूलो परिमाणको लागुऔषधसहित सल्यानमा दुई जना पक्राउ परेका छन् । दुई किलो ४८ ग्राम अफिमसहित सल्यान शारदा नगरपालिका ७ कजेरीका २८ वर्षीय झक्कुप्रसाद बोहरा र बस चालक बागचौर नगरपालिका १० पिपलनेटाका ४५ वर्षीय टेकमप्रसाद शर्मा पक्राउ परेका हुन् । रुकुमबाट काठमाण्डौ जाँदै गरेको बसमा लुकाइछिपाइ लागुऔषध अफिम […]

सम्बन्धित