सदरलाइन /रुद्र सुवेदी
नेपालगञ्ज : बडा दशै नजिकिदै छ तर, दशैको मुखैमा बजारमा खसीबोकाको कृतिम अभावको देखाई भारतबाट खसीबोका भित्र्याउने चलखेललाई निरुत्साहित गर्न बाँके र बर्दियाका महिलाले पाँच हजार खसी–बोका काठमाडौं र अन्य सहरमा पठाउने भएका छन् ।
पछिल्लो समय मासुमा आत्म निर्भर बनाउने उद्देश्यले बाँके र बर्दियका गृहणि महिलाहरुले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिक रुपमा काठमाण्डौ तथा अन्य शहर पठाउन थालिएको हो ।
दसैं र तिहारलाई लक्षित गरि विभिन्न सहकारीमा आवद्ध महिलाले पाँच हजार खसी–बोका बजारमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष गंगा चन्द ठकुरीले बताईन । उनले केही व्यावसायीले बजारमा कृतिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको आरोप समेत लगाईन ।
उनले भनिन–‘अहिले बजारमा खसीबोका छैनन् भनेर कृतिम अभाव देखाउने र चर्को मुल्यमा भारतबाट ल्याईएका खसीबोका बेच्ने दाउमा केही व्यपारी हुनुहुन्छ । अहिले पनि हमीसंग ५ सय बढी खसीबोका हाम्रो ढकेरी बिक्रि कक्षमा स्टकमा छन् । हामी ५ हजार खसी बोका बेच्ने तयारीमा छौ ।’
उनले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आवद्ध बाँकेका १५ वटा र बर्दियाका ४ वटा सहकारीका सात हजार बढी सदस्य महिलाले उत्पादन गरेका चार हजार खसी–बोका काठमाडौं र एक हजार नेपालगन्ज लगायतका सहरमा पठाउन लागिएको जानकारी दिईन ।उनले राज्यले व्यावसाय मुखी बाताबरण दिएमा बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसी–बोका पठाएर काठमाडौंमा खसी–बोका अभाव हुन नदिने दाबी गरीन । उद्यमी महिलाले उत्पादन गरेका खसी–बोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौं लगायतका सहरमा पठाउने गरेका छन् ।
उनले पछिल्लो दिनमा भारतबाट अनाधिकृत भित्रिने खसीका कारण आफुहरुको उत्पादनले बजार नपाउने अवस्था हाल केही सुधार भएपनि प्रहरी प्रशासनले कागज हुँदा हुँदै पनि अनावश्यक दुख दिने गरेको गुनासो गरीन ।
उनले जिउँदो खसी प्रति किलो ४५० देखि ५१५ रुपैयाँका दरले खरिद गर्दै आएको बताईन । ५ सयदेखि ५५० सम्ममा बिक्रि गर्ने गरेको बताईन ।
दशैको लागि लक्षित गरी किसानको घर–घरबाट संकलन गरिएका ५ सय भन्दा बढी खसी बोका संघको बिक्रि केन्द्र ढकेरीमा स्टकमा रहेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेले जनाएको छ । संघका अनुसार घटस्थापनासम्म २ हजार बढी खसीबोका बिक्रि केन्द्रमा जम्मा गरिने छ ।