सदरलाइनडटकम,
बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले मृत्युमार्गको रूपमा चिनिने सिद्धबाबा सडक खण्डमा यसै आर्थिक वर्षदेखि सुरूङमार्ग निर्माणको काम शुरू हुने बताएका छन् । केही महिनाभित्र सुरूङ मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न गरी टेन्डरको प्रक्रिया जाने पौडेलले बताए ।
रूपन्देही उद्योग बाणिज्य संघको ४१ औं साधारण सभा तथा २१औं अधिवेशनको बिहीवार बुटवलमा उद्घाटन गर्दै पौडेलले बुटवल–पाल्ला सडक खण्ड अन्तर्गतको यो सडकलाई सुरक्षित बनाउन सुरुङ मार्ग सरकारले निर्माण गरेरै छाड्ने स्पष्ट पारे । यो सडक खण्डलाई प्रदेश सरकारले पनि गत वर्ष र यस आर्थिक वर्षमा गरी दशदश करोड रुपैयाँ विनियोजन गरेको छ ।
केही समय अगाडि सिद्धबाबा आएर एक टोलीले त्यहाँको भौगर्भिक अध्ययन गरेको छ । रुपन्देही लगानीका लागि उपयुक्त ठाउँ भएकाले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई पौडेलले आग्रह गरे । रूपन्देहीमा लगानी गर्न निजी क्षेत्रले मुलुकभरका उद्योगी व्यवसायीलाई यहाँ डाक्नुपर्ने पौडेलको सुझाव छ ।
निजी क्षेत्रको योगदानविना समृद्ध राष्ट्र निर्माण सम्भव नभएको भन्दै पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले उत्साहका साथ लगानी गर्न उद्योगी व्यसासायीहरूलाई आग्रह गरे ।