सदरलाइनडटकम,
नेपालगन्ज : “रेडक्रस सबै ठाँउमा सबैका लागि” भन्ने मुल नाराका साथ मंगलवार बाँकेमा पनि रेडक्रस दिवस मनाइएको छ । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँकेले विभिन्न कार्यक्रम गरेको छ । जुनियर रेडक्रस सर्कल आदर्श माध्यमिक विद्यालय नेपालगन्जको आतिथ्यतामा “जुनियर तथा युवा, विपदमा पुर्याउँछन् सेवा” विषयक जिल्ला स्तरीय चित्रकला प्रतियोगितासमेत गरिएको छ ।
कार्यक्रममा सोसाइटीका केन्द्रीय उपाध्यक्ष एवं प्रमुख अतिथि अजीतकुमार शर्माले नेपालको सबै जिल्लामा रेडक्रसका शाखा स्थापना भई हाल १२ लाख स्वयंसेवक रेडक्रसको अभियानमा संलग्न रहेको बताए । उनले रेडक्रसको माननीय सेवा घरघरमा पुर्याउन र समाज सेवा एवं राष्ट्र निर्माणमा योगदान गर्न रेडक्रसकर्मीलाई आग्रह गरे ।
रेडक्रसको छवि उचाँईसम्म पुर्याउने रेडक्रसकर्मीलाई धन्यवाद दिँदै अर्का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र ऐरीले जुनियर रेडक्रस सर्कल रेडक्रसको जग भएको बताए । कार्यक्रममा आतिथ्य सर्कलका छात्रछात्राहरुले गीत, कविता र नृत्य प्रस्तुत गरेका थिए ।
दिवसका अवसरमा सीतापुर र पुरैनी उपशाखाद्वारा बृक्षारोपण, गंगापुर उपशाखा र सिद्धेश्वर माविको संयुक्त रक्तदान कार्यक्रम, कोहलपुर उपशाखाद्वारा दन्त उपचार शिविर, बागेश्वरी र बाँकेबगिया उपशाखाद्वारा सरसफाई अभियान, कुसुम उपशाखाद्वारा खोज तथा उद्धार सामग्री हस्तान्तरण, पिप्रहवा र बेतहनी उपशाखाद्वारा व्याच वितरण, गनापुर उपशाखाद्वारा रक्तदान, कचनापुर उपशाखाद्वारा सर्पदँश उपचार केन्द्रको शुभारम्भ र रेडक्रस अभियानको प्रवचन, बेलासपुर उपशाखाद्वारा जुरेस निर्देशिकाको अभिमुखीकरण र सदरलाइन उपशाखाद्वारा मैनबती प्रज्वलन गरिएको थियो ।