सदरलाइनडटकम,
नेपालगञ्ज : एक सातादेखि विद्युत् अनियमित हुँदा नेपालगञ्जलगायत आसपास क्षेत्रको जनजीवन कष्टकर भएको छ । दिउँसो र बेलुकी विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनका साथै सर्वसाधारणको दैनिकी कष्टकर भएको हो ।
विद्युत् अनियमित हुँदा स्थानीय पत्रपत्रिका प्रकाशनमा समस्या भएको नेपालगञ्जस्थित त्रिपुरा प्रेसका सञ्चालक दीपक कठायतले बताए । नेपालगञ्जमा विद्युत् अनियमित हुँदा उद्योग व्यवसायमा क्षति पुगिरहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको भनाई छ ।
विद्युतअवरुद्ध बारे पटक–पटक पहल गरिएपनि नियमित हुन नसकेको उनले गुनासो गरे । उद्योग व्यवसाय मात्र नभई बिद्युत अनियमितताका कारण कृषकहरु समेत मर्कामा परेका छन् । आकाशे पानी नपरिरहेको बेला बिद्युत नियमित नहुँदा धानसमेत सुक्न थालेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका कृषक जयपाल मौर्यले बताए ।
धानमा बाला आएका बेला पानी एकदमै आवश्यक रहेको भन्दै उनले आकाशे पानी परै जाओस् छिन्छिन्मा बिद्युत कटौतीका कारण मोटरबाट समेत पानी चहार्न नपाएको गुनासो गरे ।
यता नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले भने केन्द्रीय प्रशारण लाइनमाथि दोष थोपार्दै आएको छ । केन्द्रीय प्रशारण लाइनबाट विद्युत् अवरोध भएकाले अहिले नेपालगञ्जमा दैनिक आठ घण्टासम्म विद्युत् अनिमित गर्नुपर्ने अवस्था आएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए ।