सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगञ्ज शहरको फोहरको अवस्था झल्काउने खालका फोटोहरुको प्रदर्शनी गर्ने भएको छ । फोटो प्रदर्शनीका लागि ‘ऐना’ नाम दिइएकोे फोटो प्रतियोगिताको आव्हान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकासँगको साझेदारीमा गर्न लागिएको फोटो प्रतियोगिता र प्रदर्शनीले नेपालगञ्ज शहरमा फोहोर व्यवस्थापनको अवस्था र यसको समाधानका उपायहरुको खोजी गर्ने उद्देश्य राखिएको पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले बताए ।
खुला फोटो प्रतियोगितामा जो कसैले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रमा रहेको फोहरमैलाको अवस्था र यसको व्यवस्थापनकालागि गरिएको प्रयासहरुलाई झल्काउने फोटोहरु समावेश गरिने बताईएको छ । यस प्रतियोगितामा मोबाइल वा डिएसएलआर जुनसुकैबाट खिचेको २ मेगापिक्सल भन्दा बढिको फोटोलाई समावेश गरिनेछ भने एक जनाले बढिमा ५ वटा फोटो प्रतियोगिताको लागि पठाउने सक्नेछन ।
नेपालगञ्जका युवा फोटोग्राफरहरुको समूह नेपालगञ्ज फोटोवाकर्सले संयोजनकारी भूमिका खेलेको प्रतियोगिताकालागि असार १५ गते आइतबारसम्म फोटो पठाइसक्नुपर्ने छ । प्रतियोगितामा प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने पत्रकार महासंघका अध्यक्ष थारुले बताए ।