लम्पीस्किन रोगबाट बाँकेमा ३५ हजार बढी पशु प्रभावित

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १५:००
 

नेपालगञ्ज : बाँकेमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३५ हजारभन्दा बढी पशु चौपाया प्रभावित भएका छन् । जिल्लामा सो रोगको सङ्क्रमण तीव्र गतिमा फैलिनेक्रममा रहेको चिकित्सकको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले दिएको जानकारीअनुसार बाँकेमा ३५ हजारभन्दा बढी पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् भने करिब १७५ वटा गाईभैँसीको ज्यान गएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अधिकृत तथा पशु चिकित्सक डा. रुपेन्द्रकुमार ओलीले जिल्लामा तीव्र गतिमा ‘लम्पी स्किन’ को सङ्क्रमण फैलिएकाले संक्रमतिको सङ्ख्या अझै बढी हुनसक्ने बताए ।

पालिकाबाट तथ्याङ्क आउनेक्रम जारी रहेको जनाउँदै उनले हालसम्मको अवस्था हेर्दा ३५ हजार बढी पशुचौपाया बिरामी परिसकेको र करिब १७५ भन्दा बढी मरिसकेको जानकारी आएको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लामा गत चैतबाट उक्त रोगको सङ्क्रमण सुरु भएको जनाउँदै भ्याक्सिन आउन ढिलाइ भएका कारण पनि रोग धेरै पशुमा फैलिएको जनाएको छ ।


नेपाल भेटेरिनरी एसोशिएशनका सचिव डा. शङ्कर न्यौपानेले सङ्क्रमणबाट ठुलो सङ्ख्यामा पशु चौपाया सङ्क्रमित भएपछि जिल्लाका किसान चिन्तित देखिएको बताए । सचिव डा. न्यौपानेले पशुलाई ज्वरो आउनु, शरीर र मुखमा फोकाजस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घट्नु र गर्भ तुहिनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिए ।

जिल्लामा तीव्र गतिमा लम्पी स्किन फैलिएपछि केन्द्रबाट आएको भ्याक्सिन लगाउने र बिरामी पशुको उपचार दुवै कार्य अहिले आठ वटै पालिकामा तीव्र गतिमा भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले जनाएको छ ।

सो कार्यालयका अनुसार हालसम्म ६ वटा पालिकाका तीन हजारभन्दा बढी पशु चौपायालाई लम्पी स्किनविरुद्धको भ्याक्सिन लगाइसकिएको छ । भ्याक्सिन लगाउनेक्रम जारी छ । पशु चिकित्सक ओलीले जिल्लाका ६ वटा पालिकालाई करिब पाँच हजार भ्याक्सिन पठाइसकिएको जनाउँदै थप दुई पालिकाले आइतबार भ्याक्सिन लिएर लगाउन शुरु गर्ने बताए ।

खजुरा, जानकी, बैजनाथ, कोहलपुर, नरैनापुर र नेपालगञ्जमा भ्याक्सिन लगाउने कार्य भइरहेको जनाउँदै राप्तीसोनारी र डुडुवामा आइतबारबाट शुरु गरिने बताए । भ्याक्सिन लगाउने र उपचार गर्ने कार्यका लागि स्थानीय तहका प्राविधिक र जिल्लाबाट पठाइएका प्राविधिक खटिएको पनि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले जनाएको छ । केन्द्रकाअनुसार बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन वर्षदेखि नेपालगञ्ज अध्यागमन कार्यालयको काम ठप्प

६ श्रावण २०८०, शनिबार १५:००
नेपालगञ्ज : सीमावर्ती रुपईडिहामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगञ्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ । करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगञ्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको प्रयोग गर्न सुझाव दिने गरेका छन् । अध्यागमन कार्यालय नेपालगञ्जका […]