अब नेपालगञ्जबाटै सिधै लखनउ मैत्रीबस सेवा सुरु

२२ भाद्र २०७६, आईतवार १७:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जदेखि भारतको लखनउसम्म सिधा बससेवा आईतवारबाट शुरु भएको छ । भेरी यातायात प्रालिले सञ्चालनमा ल्याएको नेपाल–भारत मैत्री बस सेवा भिजिट नेपाल–२०२० लाई लक्षित गरी ल्याईएको हो ।
नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शम्सेर राणाले एक औपचारिक कार्यक्रमका बिच बसको ढोकामा बाधिएको रिबन काटेर बस सेवाको उद्घाटन गर्दै नेपालगन्जबाट लखनउ हिडेका यात्रुलाई अबिर र माला लगाएर बिदाई गरेका थिए । नगर प्रमुख राणाले सो बसलाई हरियो झन्डा देखाएर संकेत गरेपछी बस लखनउका लागि प्रस्थान गरेको थियो ।
नगर प्रमुख राणाले नेपालगन्ज लखनउ बस सेवा संचालनमा आएकोमा आफू एकदमै खुशी भएको बताउदै उनले नेपालगञ्जलाई क्यासिनो सिटीको शहर बनाउदै गर्दा भारतबाट आउने भारतिय पाहुनालाई सरल र सहज हुने धारणा राखे । उनले नगरका सबै बसहरु एकै ठाँउबाट सञ्चालन हुनुपर्नेमा जोड दिदै चाँडै नयाँ बसपार्क सञ्चालनमा आउने बताए ।
भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले प्रदेश ५ र ६ का अधिकांश जिल्लाबाट औषधि उपचारका लागि भारतको लखनउ जानेको संख्या अत्याधिक हुने हुनाले उनीहरुलाई सहजरुपमा त्यहाँ पुग्न सजिलो होस भन्ने उद्देश्यले बससेवा संचालनमा ल्याएको जानकारी दिए ।
उनले रुपैडिहाबाट महङ्गो पैसा तिरेर ट्याक्सी र बसबाट नेपाली यात्रुहरु लखनउ पुग्दा ठगिने लुटिने सम्भावना पनि हुने हुदा अब नेपालगञ्जबाटै सिधै नेपाली बस सेवा शुरु भएपछी त्यो समस्या पनि नरहने बताए ।
कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, आदर्श थाना रुपैडिहाका ईन्चार्ज मनिश कुमार पाण्डे, भेरी यातायात प्रालिका प्रबन्धक उमेश गुरागाई, यातायात व्यवसायी शोभाखर पौडेल लगाएतले बसको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।
भेरी यातायात प्रालिले यस अघिदेखि नेपालगञ्ज–दिल्ली नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । नेपालगञ्जबाट लखनउको लागि विहान ८ बजे र लखनउको केशरबागबाट राती सवा ९ बजे बस सञ्चालन हुने जानकारी प्रालिले दिएको छ ।

Next Post

स्थानीय सरकार र प्रशासनबीच सहकार्यमा जोड

२२ भाद्र २०७६, आईतवार १७:३०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने गराउने सन्दर्भमा स्थानीय प्रशासनसँग सधै सहकार्य र समन्वय गरिरहेको बताएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीको स्वागतमा उपमहानगरपालिकाले आइतवार आयोजना गरेको स्वागत कार्यक्रममा उनले […]