सदरलाइनडटकम,
नेपालगञ्ज : मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार अवस्था र बिश्लेषण एवं व्यवस्थाबारे सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा सहभागी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले मानव बेचविखन नियन्त्रणका लागि बालिका शिक्षामा जोड दिनुपर्ने बताए ।
उनले आगामी वर्ष उमेर पुगेका सबै बालिकालाई विद्यालय पुर्याउने गरि कार्यक्रम ल्याउने बताए । बालिकालाई अनिवार्य विद्यालय भर्ना गर्नुपर्ने, नगर्नेलाई कानून अनुसार दण्डित गर्ने र बालिका शिक्षाका लागि कमजोर आर्थिक अवस्था भएका परिवारलाई स्थानीय सरकारले सहयोग गर्ने नीति लिइने उनको भनाई थियो । उपमहानगरपालिकाकी महिला तथा बालवालिका शाखा प्रमुख शोभा शाहले मानव वेचविखन स्वदेशमा पनि हुने जानकारी दिइन् ।
उनले नेपालगञ्जमा वडास्तरमा समिति गठन शुरु गरिएको बताइन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले नेपालगञ्ज बेचबिखनका लागि ट्राञ्जिट प्वाइन्टको रुपमा रहेको बताए ।
गतबर्ष ३५ वटा वाल विवाह रोकिएको भन्दै प्रहरी उपरीक्षक वलीले बालविवाह रोक्न प्रहरी पुग्नासाथ अभिभावकले वालक्लव सम्वद्धलाई जिम्मेवार ठहराउने गरेको अवस्था रहेको बताए । कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला, महिला अधिकारकर्मी कमला पन्तले मानव बेखिन र रोकथामका सम्वन्धमा जानकारी दिएका थिए ।