सदरलाइनडटकम,
डुडुवा (बाँके) : समाजमा हुने विभिन्न किसिमका द्वन्द्वको न्युनीकरण गर्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकामा द्वन्द्व संवेदनशीलता सम्बन्धि दुईदिने तालिम दिइएको छ । तालिममा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, प्रहरी, अधिकारकर्मी, नागरिक अगुवा गरि २५ जनाको सहभागिता रहेको थियो ।
तालिममा द्वन्द्वको अवस्था, कारण, संबेदनशिलता, सामाजिक मान्यता, उत्पन्न विवाद तथा समाधानका पहलका विषयमा इण्टरनेशनल एलर्टका वरिष्ठ परियोजना अधिकृत विष्णु नेपाली र माहुरी होमका कार्यक्रम अधिकृत पार्वती नेपालीले सहजीकरण गरेका थिए । तालिमपश्चात् सहभागीहरुले आफनो कार्य क्षेत्रमा हुने विभिन्न किसिमका द्वन्द्वको न्यूनीकरण गर्नमा विशेष भूमिका निर्वाह गर्ने बताएका छन् ।
डिएफआईडीको सहयोगमा भिएसओ र इण्टरनेशनल एलर्टको साझेदारीमा सञ्चालित सहज परियोजनाअन्तर्गत माहुरी होमले तालिमको आयोजना गरेको थियो । तालिमको बुधवार समापन गर्दै गाउँपालिका उपाध्यक्ष साहिदा बानोले तालिमका विषयबस्तुहरु बढी उपयोगी भएकाले विशेषगरि न्यायिक क्षेत्रमा काम लाग्ने भएकाले र यस्ता तालिमले समाजको द्वन्द्व न्युनीकरणमा मदत पुग्ने विश्वास व्यक्त गरिन् ।