सदरलाइनडटकम,
कपिलवस्तु : हतियार देखाएर कपिलबस्तु सदरमुकाम तौलिहवास्थित आनन्दबागबाट ३ लाख रुपैयाँ लुटिएको छ । अज्ञात समूहले हतियार देखाएर कपिलबस्तु नगरपालिका ३ आनन्दबागबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका ब्यक्तिले सो रकम लुटेका हुन् ।
सदरमुकाम तौलिहवा स्थित राष्ट्रिय वाणिज्य बैंकबाट मंगलवार अपरान्ह पैसा निकालेर बुद्धभुमि नगरपालिका १० विजगौरी तर्फ जाँदै गरेका रामकुबेर धोवीको साथबाट ३ लाख रुपैयाँ नगद लुटेको प्रहरीले जनाएको छ । नम्बर नखुलेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाले हतियार देखाएर पैसा लुटेको धोवीले बताएका छन् ।
उनको साथमा रहेको मोवाइल, ४ वटा नागरिकता र अन्य कागजातसहित उक्त रकम लुटिएको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्नहरूको खोजी भईरहेको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए ।
