‘पौराणिक महत्वको विषयमा मनपरी गर्न पाईदैन’

३१ श्रावण २०७६, शुक्रबार १३:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपालगञ्जको पौराणिक महत्वको वागेश्वरी मन्दिरको परिसरमा ‘सपिङ कम्प्लेक्स’ बनाउने विषय यतिबेला चर्चामा रहेको छ । वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको नामबाट निर्माण गर्न लागिएको ‘सपिङ कम्प्लेक्स’का कारण मन्दिरको सौन्दर्यतामा ह्रास आउने साथै मन्दिरका लागि आवश्यक खुला स्थान मासिने भन्दै त्यसको विरोध सुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल समशेर राणाले बुधबार कम्प्लेक्सको शिलान्यास गरेको भन्दै उनले नै समाजिक सञ्जालबाट फोटो सार्वजनिक गरेपछि विरोधका स्वरहरु बाहिर आएका हुन ।
नेपालगञ्जका सामाजिक अभियन्ता, सञ्चारकर्मी, अधिकारकर्मी लगायतले मन्दिर परिसर मासेर सपिङ कम्प्लेक्स बनाउने निर्णयको खुलेरै सामाजिक सञ्जालबाट विरोध गर्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलाई सो निर्माण कार्य रोक्न ध्यानाकर्षण पत्र पठाएका थिए ।
सो ध्याकर्षण पत्रमा ‘प्राचीन स्मारक संरक्षण ऐन, २०१३, सम्पदा संरक्षण ऐन तथा नगर विकास समिति नेपालगन्जको कार्ययोजना विपरीत तुरुन्त रोक्न निमानुसार आवश्यक प्रक्रिया अगाडि बढाउने तोकादेश अनुरुप आवश्यक कारबाहीको लागि तहाँ पठाइएको व्यहोरा आदेशअनुसार अनुरोध छ ।’ उल्लेख गरिएको छ ।
मन्त्रालयको आदेशपछि यो विषयले अर्कै रुप लिएको छ । मन्त्रालयले कार्यक्षेत्र मिचेर आदेश गरेको भन्दै मन्दिर गुठी भने रुष्ट छ । नगरपालिकाले मन्दिर परिसरमा कुनै नयाँ ठाउँमा नयाँ संरचना निर्माण गर्न नलागेको र पहिला भएकै सटर भत्काएर त्यहीँ ठाउँमा नयाँ संरचना बनाउन थालिएको दाबी गरेको बागेश्वरी मन्दिर व्यवस्थापन गुठीका सचिव गोपालप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सचिव अधिकारीले मन्दिरलाई खुला ठाउ राखेर मुल पुजारीको कार्यालय, १७ वटा व्यावसायिक सटर, सत्सङ्ग हल लगायत निर्माण गरिने आफ्नो विज्ञप्तीमा उल्लेख गरेका छन् ।
यसैबीच सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले कुनै पनि धार्मिक सम्पदा ओझेलमा पर्ने गरी भौतिक संचरना बनाउन नहुने बताएका छन् । उनले पौराणिक महत्वको विषयमा प्रकृया नपुराई केही गर्न नपाईने स्पष्ट हुँदा हुँदै बल मिचेर आस्थामाथि खेलवाड गर्न नहुने तर्क राखे ।
उनले भने–‘ प्राचिन सम्पदाको संरक्षणको अधिकार स्थानीय तहलाई दिइएको हो, दुरुपयोग त गर्नु भएन नि, बागेश्वरी मन्दिर सयौ वर्षको इतिहास बोकेको धार्मिक आस्थाको केन्द्र हो, यसलाई छेक्ने गरी त्यसरी कम्प्लेक्स बनाउन मिल्दैन ।’
नगर विकास समितिको नाममा रहेको मन्दिर अगाडिको केही जमिन भने सहरको बीचमा ‘खुला क्षेत्र’ पनि राख्नपर्छ भनेर जोगिएको थियो । अहिले गुठी व्यवस्थापन समितिले त्यसमा कम्प्लेक्स बनाउने भएको छ ।


Next Post

नेकपा सचेतक ढकालको घरमा बम प्रहार

३१ श्रावण २०७६, शुक्रबार १३:३०
सदरलाइनडटकम, बुटवल : सत्तारुढ दल नेकपाका प्रदेश ५ सचेतक भुमिश्वर ढकालको निवासमा बिहीवार राति बम प्रहार गरिएको छ । घटनास्थलको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत प्रदेशका मन्त्रीहरुले निरीक्षण गरेका छन् । राति साढे २ बजे सैनामैना–८ रामापुरस्थित ढकालको निवासमा तीन जनाको समूहमा आएका अज्ञात समूहले पाँचवटा पेट्रोल बम प्रहार गरेका थिए […]