सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली काँग्रेसका महामन्त्री डा.सशांक कोइरालाले बहुआयामिक नेता स्वर्गीय वीपीको विचारलाई बोक्न सके नेपाली समाज समाजवाद उन्मुख हुने बताएका छन् ।
३७ औं वीपी स्मृत दिवसका अवसरमा सोमबार नेपालगन्जमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले वीपीको नीति अवलम्बन गर्न सबैलाई आग्रह गरे ।
उनले त्यागी, तपस्या र विचारका धनी जनताका प्रिय नेता वीपीको ठाउँ कसैले पनि लिन नसकेको बताउदै भने–‘वीपीसंग विचार थियो समय थिएन अहिलेका नेतामा समय छ विचार छैन ।’ उनले आफु पनि वीपी बन्न नसक्ने बताए ।
वीपी कोइरालाका सुपुत्र नेता सशांकले वीपीका धेरै सम्झना लायक घटना रहेको उल्लेख गर्दै दूरदर्शी र व्यक्तिको मनोविज्ञान बुझ्ने शक्ति वीपीमा रहेको उल्लेख गर्र्दैे कम्युनिष्ट विचारधारा लिएर वीपिले राजनीति सुरु गरेको र तीन वर्षको जेल जीवनमा उनलाई अर्को बाटो रोज्ने बनाइएको स्मरण गरे ।
नेपाली काँग्रेसको महाधिवेशनको सन्दर्भ कोट्याउँदै महामन्त्री डा. कोइरालाले पार्टी एकतावद्ध भएर अगाडि बढ्नु पर्ने बताए । उनले आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन हुने बताउँदै देउवाको नेतृत्व अब कार्यकर्ताले स्वीकार गर्न नसक्ने धारणा राखे ।
उनले पार्टी, नेता, कार्यकर्ता र देशको आवश्यकता अनुसार नेतृत्वमा आमूल परिवर्तन हुनै पर्ने बताए । नेता डा. कोइरालाले सरकार आफ्ना हरेक गतिविधिमा चुकेको बताए ।
उनले सरकारले स्थानीय तह र प्रदेशमा एकदमै कम बजेट विनियोजन गरेर संघीयताको मर्मसमेत बुझ्न नसकेको आरोप लगाए ।
खस्कँदो सुरक्षा व्यवस्था, आकासिँदो महँगी नियन्त्रण गर्न नसकेको सरकारले पानी जहाज जस्ता ठूलो सपना बोकेर देशलाई अझ ऋणमा फसाउन खाजेको उनको आरोप थियो ।
नेपाली काँग्रेस बाँकेकी अध्यक्ष किरण कोइरालाको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा पार्टीका केन्द्रीय सदस्य बद्रि पाण्डे, पूर्व जिल्ला सभापति सनत रेग्मीलगायतले सम्बोधन गरेका थिए ।
यस अघि नेपालगन्जको वीपि चोकमा रहेको वीपि कोइरालाको प्रतिमामा माल्यार्ण गरि श्रद्धाञ्जली सभा आयोजना गरिको थियो सो सभालाई नेपाली काँग्रेस बाँकेकी सभापति किरण काइरालाले सम्बोधन गरेकी थिईन ।