सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट भागेका तीन थुनुवामध्ये दुईजना पक्राउ परेका छन् । निर्मल थापा र उज्वल कार्की पक्राउ परेका भने सिमन विक अझै फरार रहेका छन् ।
गत असार २८ गते राती साढे ११ बजे पानी परेको मौका छोपी शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर तीनजना थुनुवा भागेका थिए । थापा र कार्की सार्वजनिक र विक लागुऔषधका बन्दी थिए । बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले घर परिवर्तन गर्दै बसेका उनीहरु भारत भाग्ने तरखर गर्दा समातिएको बताए ।
उनीहरुको सम्भावित बासस्थानको आसपासमा प्रहरीले निगरानी गरिरहेको थियो । उनीहरु भारत जानका लागि बाटो खर्च जुटाइसकेको सूचना पाएलगत्तै प्रहरीले समातेको भन्दै प्रहरी उपरीक्षक वलीले लागुऔषधका थुनुवा विक अझै फरार रहेकाले छिट्टै पक्राउ पर्ने जानकारी दिए ।
