नेपालगञ्ज उपमहानगरपालिकाको पाँचौ नगरसभा

१० असार २०७६, मंगलवार २०:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको मंगलबार भएको पाचौ नगर सभाले आ.व २०७६/०७७ का लागि दुई अरव २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख डा धवल शम्शेर राणाले पेश गरेको नीती तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले पेश गरेको वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ ।
नगर उप–प्रमुख थापामगरले चालु खर्चतर्फ एक अर्व २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्व ४ करोड ३७ लाख ८१ हजार विनीयोजित वजेट प्रस्तुत गरिन् । गत आर्थिक वर्ष २०७४/०७५ मा आन्तरिक श्रोततर्फ रु. १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु.१२ करोड ११ लाख ३७ हजार राजस्व असुल भई करिब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको वजेट वक्तव्यमा उल्लेख छ । हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत वजेटमा आन्तरिक श्रोत अनुमानको ९० प्रतिशत भन्दा बढी लक्ष्य प्राप्ती हुने पनि अनुमान गरिएको छ । आगामी आ.व. को आन्तरिक श्रोतको आय अनुमान १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । आगामी आ.व.मा एसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु एक अर्ब ८ करोड समेत गरि कुल आय दुई अरब २८ करोड ८५ लाख ५४ हजार हुने अनुमान गरिएको हो ।
नगर प्रमुख डा. राणाले आ.व २०७६ र ०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई विकासको उत्कृष्ट शहर बनाउने उदघोष गरे । दश वटा विविध विषय समावेश प्रस्तुत नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्सदेखि हालको नगरभवनमा बहुतले पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माणलाई प्राथमिकता दिईएको छ । वडा नम्बर १४ मा सात सय क्षमताको निर्माणधिन सभाहल बनिसकेपछि नगरभवनमा ‘हाई राईज पार्किङ’ सुविधा सहितको सपिङ्ग कम्पलेक्स बनाउने पनि उल्लेख छ ।
पर्यटन प्रर्वद्धनमा जोड दिदै डा राणाले नगरमा धार्मीक, सांस्कृतिक स्थानको संरक्षण, सम्वद्र्धनसहित नगरमा क्यासिनो सन्चालनलाई पनि प्रोत्साहन गरेका छन् । सात तले बागेश्वरी कम्पलेक्स तीन वर्षभित्र बनाइसक्ने लक्ष्य सहित निर्माणको अन्तिम तयारीमा रहेको बसपार्क एक महिनाभित्र सन्चालन गर्ने पनि प्रस्तुत कार्यक्रममा समोवश गरिएको छ । फुटपाथ र फोहरको उचित व्यवस्थापनलाई पनि प्राथमिकतामा राखीएको छ ।
सौहार्दपूर्णरुपमा सञ्चालित सभामा वडा अध्यक्ष तथा सदस्यले राख्नु भएको जिज्ञासालाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सम्वोधन गर्नु गरेका थिए । सभामा आएका आवश्यक सल्लाह सुझावलाई ग्रहण गर्दै वजेट कार्यान्वयनको प्रभावकारितामा जोड दिइने जनाइएको छ ।

Next Post

डुडुवामा ३८ करोडको बजेट सार्वजनिक

१० असार २०७६, मंगलवार २०:०६
सदरलाइनडटकम, डुडवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलवार बसेको ५ औ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । गाउँपालिकाले बालिका तथा किशोरीलाई उच्च शिक्षा अध्ययन गर्न र शिक्षा आर्जनका लागि सहयोग पुरयाउने […]