म्याद नाघेका औषधि विक्री गर्दै नेपालगञ्जका मेडिकल

३१ जेष्ठ २०७६, शुक्रबार १९:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित रहेको औषधि पसल र एग्रोभेटमा औषधि व्यवस्था विभागले शुक्रवार अनुगमन गरेको छ । पाँचवटा पसलमा गरिएको निरीक्षणका क्रममा अधिकाँश पसलमा म्याद नाघेको र नियम विपरीत सञ्चालन रहेको पाइएको छ ।
अनुगमनका क्रममा अष्टाङ आयुर्वेद प्रालिमा शिलबन्दी गरी ३० दिनका लागि निलम्बन गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जले जनाएको छ । आयुर्वेदमा दर्ता भएको उक्त पसलले एलोप्याथिक औषधिहरु विक्री वितरणका लागि राखेको र नेपालमा दर्ता नभएका औषधिहरुसमेत सञ्चय गरेकोले उक्त पसलमा शिलबन्दी गरी ३० दिनका लागि निलम्बन गरिएको विभागका फार्मेसी अधिकृत दिपेन्द्रकुमार साहले बताए ।
निरीक्षणका क्रममा चितवन एग्रोभेटले नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गर्नुका साथै म्याद नाघेका औषधि राखेको पाइएको छ । भेटेर्नेरी औषधि कारोबारमा दर्ता रहेको उक्त पसलमा कृषिको विउविजनका साथै कीटनाशक विषादिसमेत विक्रीवितरण गरेको पाइएकोले आवश्यक कारबाहीका लागि कार्यालयमा बोलाइएको फार्मेसी अधिकृत साहले जानकारी दिए ।



साहको नेतृत्वमा फार्मेसी सुपरभाइजर यादवप्रसाद ढकाल र अनिश ढोडरीको टोलीले गरेको अनुगमनमा हरिओम मेडिकलमा म्याद नाघेको औषधि राखेको पाइएको छ । उचित तापक्रममा राख्नुपर्ने औषधि फ्रिजमा नराखेकाले औषधिको गुणस्तरमा प्रतिकूल प्रभाव पार्ने भएको हुँदा उक्त मेडिकलका सञ्चालकलाई कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको फार्मेसी अधिकृत साहले बताए ।
यस्तै उपकार मेडिकल हल र कुलाशिस मेडिकल हलमा समेत अनुगमन गरिएको थियो । दुबै मेडिकल नियमानुसार सञ्चान भएको पाइएको औषधि व्यवस्था विभाग नेपालगञ्जले जनाएको छ । नियम विपरीत सञ्चालन र म्याद नाघेको औषधि विक्रीवितरण गर्ने पसलमाथि विभागीय निर्णयानुसार निलम्बनसम्मको कारबाही गरिने फार्मेसी अधिकृत साहले बताए ।

Next Post

२३ ग्राम ब्राउन सुगरसहित खत्री प्रहरी फन्दामा

३१ जेष्ठ २०७६, शुक्रबार १९:१८
सदरलाइनडटकम, नेपालगञ्ज  : प्रहरीले भारतको सीमावर्ती रुपैडिहा बजारबाट नेपालगञ्ज आउदै गरेका एक किशोरका साथबाट ठूलो परिणाममा प्रतिबन्धित लागू औषध ब्राउन सुगर बरामद गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले शुक्रबार साँझ छ बजेतिर बर्दिया गेरुवा गाउँपालिका–२ का २६ […]

सम्बन्धित