नेपाली भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिँदै

४ बैशाख २०७६, बुधबार १७:४१
 

सदरलाइनडटकम,
काठमाण्डौ : अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) बुधबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ । जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ ।
यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । अमेरिकाको भर्जि्नियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गर्न सबै तयारी सकिएको छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका बरिष्ठ वैज्ञानिक रविन्द्र ढकालले जानकारी दिए ।
स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउन लागिएको हो । यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ । यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । प्रक्षेपणका लागि अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल(ए टिकेलाई यो स्याटेलाइट हस्तान्तरण भइसकेको छ ।
वैज्ञानिक रविन्द्र ढकालका अनुसार यो स्याटेलाइट जेठको पहिलो वा दोस्रो साता अन्तरिक्षमा रिलिज हुनेछ । त्यसपछि यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ । यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नाष्टको भनाई छ । यो स्याटेलाइट पठाउन लागेको खर्च सरकारले नै ब्यहोरेको छ । नेपाली स्याटेलाइट वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ ।
ढकालका अनुसार केही दिनमै नेपाली स्याटेलाइट वनलाई नेपालकै पहिलो स्याटेलाइटका रुपमा दर्ता गरिँदैछ । भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्नेछ । यो भूउपग्रको प्रक्षेपणपछि नेपाली इन्जिनियरहरुको क्षमता पनि विकास हुने र त्यसले राष्ट्रलाई नै लाभ दिने नाष्टको भनाई छ ।

Next Post

छुवाछुत अन्त्य गर्न नरैनापुरमा सहभोज

४ बैशाख २०७६, बुधबार १७:४१
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले स्थानीय तहहरुमा जिल्लामै पहिलोपटक सहभोज गरेको छ । जातीय छुवाछुत अन्त्यका लागि अभियान थालेको गाउँपालिकाले दलित सेवा संघ नरैनापुर, बाँके र तराई दलित विकास मञ्च बाँके संगको सहकार्यमा बुधवार वडा नम्बर ४ नरैनापुरमा सहभोज गरेको हो । स्थानीय दलित र गैर दलितलाई एकै […]