नेपालगञ्जको ल्याण्डफिल साइटको परीक्षण बैशाखमा

२२ चैत्र २०७५, शुक्रबार १४:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ हिरमिनियामा निर्माणाधीन ल्याण्डफिल साइटको परीक्षण वैशाखमा गरिने भएको छ । फोहर राख्न तयार पारिएका चार वटा सेलमध्ये एउटा तयार भएपछि वैशाखमा परीक्षणको तयारी गरिएको हो ।
बाँकी तीनवटा सेलको पनि ९५ प्रतिशत काम सम्पन्न भइसकेको एकीकृत शहरी विकास आयोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले बताए । परियोजना अन्तरगत ठूला र महत्त्वपूर्ण काम सम्पन्न भइसकेको उनले जानकारी दिए । नेपालगञ्जबाट संकलन भएर ल्याण्डफिल साइटमा जम्मा पारिएका फोहर छुट्याउने, फोहर पानी र फिल्टर गरिएको पानी फाल्ने ट्यांकी निर्माण भइसकेको इन्जिनियर महर्जनले बताए ।
उनका अनुसार, ल्याण्डफिल साइटमा नेपालगञ्ज नगरका शौचालयबाट लगिएको फोहर भण्डारण गर्ने ट्यांकी निर्माण भइसकेको छ भने, ल्याण्डफिल साइटको वरिपरी वृक्षारोपणको काम पनि सकिएको छ । आयोजनाले ल्याण्डफिल साइटका लागि आवश्यक पर्ने १२ वटा ई–रिक्सा ल्याएको छ । फोहर संकलनका लागि ११ हजार थान ‘डस्टविन’ पनि ल्याइसकेको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।
फोहोर संकलन गर्ने चार वटा गाडीसमेत ल्याण्डफिल साइटमा पुगिसकेको उनले बताए । फोहर संकलनका लागि उपमहानगरपालिकाले घर–घरमा डष्टविन वितरण गर्ने तयारी गरेको छ । सड्ने र नसड्ने फोहर राख्नका लागि दुई थरिका डस्टविन ल्याएर वितरणको तयारी गरिन लागेको उनले बताए । फोहर बोक्ने चार वटा टिपर र एउटा सक्सन ट्यांकर पनि ल्याण्डफिल साइटमा व्यवस्था भइसकेको छ ।

Next Post

एनआइसी एशिया बैंकको चमत्कारिक बचत खाता

२२ चैत्र २०७५, शुक्रबार १४:५२
सदरलाइनडटकम, नेपालगञ्ज : निजी क्षेत्रको सबैभन्दा ठुलो वित्तीय संस्था भएको दाबी गर्ने एनआइसी एशिया बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न १५ वटा चमत्कारिक बचत निक्षेप योजना ल्याएको छ । बैंकले २१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा चमत्कारिक योजना ल्याएको हो । सबै खालका ग्राहकलाई समेट्ने गरी चमत्कारिक बचत […]

सम्बन्धित