बाँकेको खजुराले बनायो गुरुयोजना

२३ फाल्गुन २०७५, बिहीबार १८:३१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले १५ वर्षे अध्यावधिक योजनामार्फत खजुराको विकासका लागि गुरुयोजना तयार पारेको छ । ५ वर्षे, १० वर्षे र १५ वर्षे योजनामा खजुराको विकास कसरी गर्ने भन्ने कुरालाई समेट्दै इन्टेनसीप इन्सिच्युट अफ रिसर्च सेन्टरले खजुराको विकासको लागि गुरुयोजना तयार पारेको हो ।
खजुरा गाउँपालिकाको बहृत गुरुयोजनाको अन्तिम प्रारुप तयारबारे आज (विहीवार) खजुरामा प्रस्तुतीकरण समेत गरिएको छ । ५ खण्डमा विभाजन गरिएको गुरुयोजनाको परामर्शदाताका तर्फबाट वातावरण, जलवायु तथा विपद् व्यवस्थापन विज्ञ डा. दिवस श्रेष्ठ, मानवशास्त्री डा. गोकर्ण ज्ञावली र शहरी विकास विज्ञ दीपक श्रेष्ठले प्रस्तुत गरेका थिए ।
भूमिका तथा योजना तयारी प्राविधक पक्ष, दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, बस्तुगत विवरण, तथ्याङ्क सूचना, विषय क्षेत्रगत विकास योजना, आधार नक्सालाई गुरुयोजनामा समेटिएको छ । योजना निर्माणका वैज्ञानिक, नीतिगत, गाउँपालिकाको बस्तुस्थिति, सम्भावित प्रमुख क्षेत्रहरु, दुर्बल पक्षलाई केलाउँदै प्राथमिकताका कुराहरुमा पनि गुरुयोजनामा सरलीकरण गरिएको छ ।
विज्ञ डा. दिवस श्रेष्ठले सम्भावित प्रमुख क्षेत्रहरुमा कृषि, कृषि र सांस्कृतिक पर्यटन, पशुपालन, उद्योग, माछापालन, शिक्षा, स्वास्थ्य, राजनीतिक दलका घोषणा तथा आधारपत्र, गाउँपालिकाको गत तथा चालूआर्थिक वर्षका योजना रहेको बताए ।
मानवशास्त्री डा. गोकर्ण ज्ञावलीले खजुरालाई नमूना बनाउने आधार प्रस्तुत गर्दै भौतिक, आर्थिक, सामाजिक कुरामा विभाजन गरेर योजना कार्यक्रम बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिए । उनले नमूनाका लागि सडक, आवास, खानेपानी, यातायात, सिँचाई, उर्जा, संचार, शिक्षा, स्वास्थ्य, बाल, मानव अधिकार, सामाजिक सुरक्षा, जेष्ठ नागरिक आश्रम, बालगृह, सांस्कृतिक संरक्षण, शान्ति सुरक्षा अमनचयन, खेल मनोरञ्जन, जलाधार संरक्षण, विपद् व्यवस्थापन, वैज्ञानिक राजश्व असुली, असलशासन, क्षतिपूर्तिसहितको नागरिक वडापत्र, वन संरक्षणलगायतका सूचक मापन हुनु पर्ने बताए । शहरी विकास विज्ञ दीपक श्रेष्ठले सडक संजाल, आवास, उद्योग, कृषि वनलगायतका क्षेत्र र त्यसको मापदण्डबारे जानकारी दिँदै सोही ढंगले गुरुयोजनामा सामावेश गरेको बताए ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले पाश्वचित्र तथा गुरुयोजनामा टेकेर खजुरालाई नमूना बनाउने दिशामा सबै राजनीतिक दललगायत खजुराबासीलाई आग्रह गरे । उनले खजुरालाई १५ वर्षभित्र नमूना गाउँपालिकाका लागि सबै सूचि मापन गर्न सकिने भन्दै त्यसका केही आधारहरु रहेको र ५ वर्षमा सबै आधार तय हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्याय, शिक्षा समिति सदस्य ऋषिराम सापकोटा, नेपाली काँग्रेसका प्रतिनिधि शेरबहादुर गुरुङ, राप्रपाका तेजविक्रम शाहले गुरुयोजना खजुरा विकासका लागि सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।

Next Post

खजुराले बनायो पन्ध्र वर्षे गुरुयोजना

२३ फाल्गुन २०७५, बिहीबार १८:३१
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले १५ वर्षे अध्यावधिक योजनामार्फत खजुराको विकासका लागि गुरुयोजना तयार पारेको छ । ५ वर्षे, १० वर्षे र १५ वर्षे योजनामा खजुराको विकास कसरी गर्ने भन्ने कुरालाई समेट्दै इन्टेनसीप इन्सिच्युट अफ रिसर्च सेन्टरले गुरुयोजना तयार पारेको हो । गाउँपालिकाको बहृद् गुरुयोजनाको अन्तिम प्रारुप तयारबारे […]