सदरलाइनडटकम,
दाङ : दाङ क्षेत्र नं. ३ (ख)बाट निर्वाचित प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शनिवार अन्त्येष्टि गरिएको छ । सवारी दुर्घटनामा गम्भीर घाईते भएका सांसद ओलीको शुक्रवार काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको दाङ दंगीशरण गाउँपालिका वडा नं. ६ बागरखोलामा अन्तिम संस्कार गरिएको हो ।
सांसद ओलीको पार्थिब शरिरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका हुन् । त्यस्तै उनको पार्थिव शरिरलाई शोक सलामी अर्पण गरिएको थियो । अन्तिम श्रद्धाञ्जली दिन प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का सचेतक शान्ता चौधरीलगायत दाङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा प्रदेश सांसद, नेता तथा कार्यकर्ताहरुको सहभागि थिए ।
सो अवसरमा शोक मन्तब्य ब्यक्त गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ओलीको निधनले प्रदेश सरकारलाई ठूलो क्षति भएको बताए । उनले दाङको पश्चिम क्षेत्रको बिकासका लागि खेलेको योग्दान महत्वपूर्ण रहेको भन्दै ओलीको निधनले प्रदेशको विकासमा समेत नोक्सान पु¥याउने बताए । सानै उमेरमा बिकासप्रेमी नेताको छबि बनाएका ओलीको दुर्घटनामा परि निधन हुनु दुखद भएको भन्दै प्रदेश नं. ५ सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि माननीय उत्तरकुमार ओली सडक सुरक्षा योजना बनाएर अघि बढ्ने समेत मुख्यमन्त्री पोखरेलले बताए ।
सांसद ओलीको गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद ओली सवार कार र बस ठोक्किदा दुर्घटना भएको थियो । बुटवलबाट गृहजिल्ला दाङ आउँदै गर्दा घोराहीबाट लमही तर्फ जाँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबहाक बस र सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । उनकी श्रीमती र दुई छोरा छन् । २०४१ सालमा जन्मिएका सांसद वलीको ३४ बर्षको उमेरमा निधन भएको हो ।