सदरलाइनडटकम,
कपिलवस्तु : सशस्त्र प्रहरीले कपिलवस्तुमा ठूलो परिमाणको अवैध चल्ला बरामद गरी नष्ट गरेको छ । भारतबाट अवैधरुपमा ल्याउँदै गरेको बोईलर कुखुराको पाँच हजार गोटा चल्ला कृष्णानगर नगरपालिका वडा नं. ३ सूरही खोला नजिक सशस्त्र प्रहरीले बरामद गरेको हो ।
विशेष सुराकीको अधारमा कृष्णानगर सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र केसीको नेतृत्वमा गएको टोलीले मंगलवार राती बरामद गरेको थियो । प्रहरी देखेपछि तस्करहरु फरार भएका थिए ।
करीब चार लाख मूल्य बराबरको उक्त चल्ला सशस्त्र प्रहरीको क्याम्पको प्रांगणमा पशु क्वारेनटाइनका प्रतिनिधि, पत्रकारलगायतको उपस्थितमा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
(कपिलवस्तुबाट अजय मिश्रको सहयोगमा)
