सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने गरी कार्यविधि स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । सरकारले विपन्न नागरिकको घर बनाउन पाँच करोड रुपैयाँ बजेट समेत छुट्याएको छ ।
पाँच करोडमा झण्डै एक सय घर निर्माण गर्ने लक्ष्य लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । विपन्नहरूको घर निर्माणका लागि हुम्ला र डोल्पामा पाँच लाख र अरु जिल्लामा चार लाख रुपैयाँका दरले उपलब्ध गराइनेछ ।
मन्त्री विष्टका अनुसार सुर्खेतका बाढी पीडित परिवारलाई तीन लाख रुपैयाँका दरले आर्थिक सहयोग दिने निर्णय भएको छ । २०७१ सालको बाढीबाट प्रभावित सुर्खेतका एक हजार ६२ परिवारलाई प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८र७९ मा प्रतिपरिवार तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।
तीन लाखका दरले प्रदेश सरकारले ३१ करोड ८६ लाख रुपैयाँ रकम वितरण गर्ने भएको छ ।