कुष्ठरोग अझै पनि लुकाउदा समस्या बल्झिदै

१३ माघ २०७५, आईतवार १२:३७
 

सदरलाइन / रुद्र सुवेदी ,
नेपालगञ्ज : जिल्ला स्वस्थ्य कार्यालय बाँकेका प्रमुख प्रेम केसीले कुष्ठरोगको बारेमा समाजमा अझै पनि गलत धारणा र बुझाई भएको कारण यस रोगको रोकथाम र निराकरण गर्न कठिन भएको बताएका छन् ।
६६ औं विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वस्थ्य कार्यालय बाँके र साईनिङ्ग अस्पताल नेपालगञ्जको आयोजनामा ‘कुष्ठरोग कार्यक्रमको गन्तब्य गलत धारणा र विभेदको अन्त्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तरक्रियामा सो कुरा बताएका हुन ।
उनले भने–‘ कुष्ठरोग बारे हाम्रो बुझाई गलत भएको कारण यसको निवारणमा समस्या आएको हो । विरामी सुरुकै अवस्थामा खुलेर नआउने कारण अंगभंग भएपछि मात्र आउदा निराकरण तथा विरामीलाई सुरुकै अवस्थामा फर्काउन कठिन हुन्छ तसर्थ यो एउटा रोग हो समयमै उपचार गर्दा निको हुन्छ ।’ उनले बाँके र बर्दिया देस भरमै सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाको रुपमा तथ्याङ्क सार्वजनिक भएको कुरा जानकारी दिए ।
बाँकेमा विगत ५ वर्ष यताको कुष्ठरोगको अवस्था आर्थिक वर्ष २०७०/०७१ मा ७१ जना नयाँ विरामी भेटिएकोमा २०७१/०७२ मा १२० जना, २०७२/०७३ मा १८५ जना, २०७३/०७४ मा २७० र २०७४/०७५ मा १७३ जना नयाँ विरामी भेटीएको र चालु आर्थिक वर्षको नयाँ तथ्याङ्क तयार भई नसकेको उनले बताए ।
साईनिङ्ग अस्पताल नेपालगन्जका व्यवस्थापक समेत रहेकी निर्मला बिएमले शनिबारसम्म अस्पतालमा २१ जना कुष्ठरोगी भर्ना भएर सेवा लिई रहेको जानकारी दिईन  ।  उनले  वितेका दुई वर्षमा साईनिङ्ग अस्पतालमा छालाको उपचारको लागि आएका विरामीहरु मध्ये ४४७ जना नयाँ कुष्ठरोगी भेटिएको बताईन ।
उनले आर्थिक वर्ष २०७३/०७४ मा बाँकेका १०६ जना र बर्दियाका ७६ जना, दाङ्गका ८ जना, भारतका २४ जना नयाँ विरामीले सेवा लिएका छन् । यसैगरी अर्थिक वर्ष २०७४/०७५ मा बाँकेका १११ जना, बर्दियाको ५२ जना भारतको २० जना र सल्यानको ८ जना नयाँ विरामीले सेवा लिएका छन् ।
उनले अस्पतालले छाला, क्षयरोगको उपचार सेवा दिने भएको कारण छालाको उपचारको लागि आउनेहरुमा जाँच गर्दा मात्र भेटिएको विरामीलाई सेवा दिएर कुष्ठरोगको नियन्त्रण तथा उन्मुलन नहुने भएकोले सबै स्थानीय तहले हरेक वर्ष आफ्नो स्वास्थ्य शाखा मार्फत छालारोगको शिविर राखेर सबै नागरिकको अनिवार्य जाँच गराउने व्यवस्था मिलाउन सके मात्र निराकरण हुनसक्ने सुझाव दिईन ।
कार्यक्रममा जानकी गाउपालिकाका अध्यक्ष राम निवास यादव, नेपालगन्ज उप–महानगरका उप–प्रमुख उमा थापामगर, खजुरा गाउपालिकाको उपाध्यक्ष एकमाया विक, जानकी गाउपालिकाका उपाध्यक्ष भूमिसरा धिताल लगायतको सहभागिता रहेको थियो ।

Next Post

बिबादकै बिचमा भम्कामा झोलुङ्गे पुलको शिलन्यास

१३ माघ २०७५, आईतवार १२:३७
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडानं. १ भम्कामा विबादका बीचमा झुलुङ्गेपुलको शिलन्यास गरिएको छ । काँग्रेस क्षेत्रीय सभापति माधवराम खत्रीको बल मिचाईको कारण स्थानीय जनप्रतिनिधि र स्थानीयको सहभागिता विना नै झुलुङ्गेपुलको शिलन्यास गरिएको बताईएको छ । ‘सबैको सहभागितामा शिलन्यास गरौ भनेर अघिल्लो दिन राती १२ बजेसम्म सहमति भयो […]