सदरलाइनडटकम,
कोहलपुर (बाँके) : दोस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को शुक्रवार कोहलपुरमा उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना र शिक्षा, यूवा तथा खेलकुद शाखाको सांलन तथा व्यवस्थापनमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराले गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश नं. ५ सरकारले यहि फागुनमा मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको बताए । प्रतियोगितालाई सफल बनाउनका लागि सबै स्थानीय सरकारको सहयोगको आवश्यकता पर्ने भन्दै उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले विभिन्न निकायसँग आवश्यक छलफल गरिरहेको बताए ।
कोहलपुरलाई खेलकुद क्षेत्रको रुपमा विकास गर्नका लागि स्थानिय सरकारसँगको सहकार्यमा प्रदेश सरकारले पहल गर्ने प्रतिवद्वता जनाएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले विद्यार्थीहरुले प्रतियोगिताबाट आफ्नो प्रतिभालाई जिल्ला, राष्ट्र हुँदै अन्तर्राष्ट्रीयस्तरमा देखाउन सक्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिए ।
सम्पूर्ण खेल स्थगित
प्रतियोगिताको उद्घाटन सत्रमा हुने सम्पूर्ण खेलहरु स्थगित गरिएको छ । पहिलो दिन हुने भनेका विभिन्न खेलहरु वर्षाका कारण स्थगित गर्नु परेको प्रतियोगिता सञ्चालन समितिकी संयोजक नारायणी वलिले जानकारी दिईएकी छिन् । प्रतियोगिताको सम्पूर्ण खेल शनिवार बिहानबाट हुने आयोजकले जनाएको छ ।