नेपाल–भारत दशगाजामा संयुक्त गस्ती

२१ बैशाख २०७६, शनिबार ०७:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : भरतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल भारत सीमा क्षेत्रको दशगजामा दुईदेशका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबि) बटालियन नंम्बर ४२ को कम्पनी ई मुन्सीपुरवाका कम्पनी कमाण्डर सुकुमार देवबर्माको संयुक्त कमाण्डमा नेपाल भारत सीमा क्षेत्रको जंगेपिल्लर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक शाहले सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि रोक्न र दुईदेशबीचको भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउन यस्तो खालको संयुक्त गस्ती गरिदै आएको जानकारी दिए ।
उनले नेपालमा निर्वाचन हुँदाको बखतमा पनि दुबै देशका सुरक्षा निकायले यसरी नै संयुक्त सुरक्षा गस्ती हुने गरेको र अहिले भारतमा पनि लोकसभाको निर्वाचन हुँदै गरेको अवस्थामा सीमा क्षेत्रको अवस्था बुझ्नको लागि संयुक्त गस्ति गरिएको उनले बताए ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबि) बटालियन नंम्बर ४२ को कम्पनी ई मुन्सीपुरवाका कम्पनी कमाण्डर देवबर्माले सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रमा संयुक्त रुपमा यसरी सुरक्षा गस्ती गर्दा सीमा क्षेत्रमा अपराधिक गविबिधी रोकिने, सीमा क्षेत्रको सुरक्षा हुने र दुबै प्रति शौहर्दता व्यक्त हुने भएकोले यस्तो खालको संयुक्त गस्तीको महत्व र प्रभावकारिता छुट्टै खालको हुने धारणा राखे ।
सो संयुक्त गस्तीमा २५ जना नेपाली सुरक्षाकर्मी र भारतका तर्फबाट १६ जनाको सहभागिता रहेको थियो । निर्वाचनको बेला होस वा अन्य समयमा सीमा क्षेत्रबाट हुनसक्ने विभिन्न अपराधिक गतिबिधि रोक्नको लागि हरेक महिनामा दुई–तीन पटकसम्म यसरी संयुक्त गस्ति गरिदै आएको दुबै देशका सुरक्षा निकायका अधिकारीको भनाई रहेको छ ।
भारतको उत्तर प्रदेशमा आगामी मे ६ तारिक (२३) बैशाखमा हुने लोकसभा निर्वाचनको लागि बैशाख २१ गते साँझदेखि २३ गते साँझसम्म नेपाल भारत बोर्डरमा आवागमनसमेत बन्द हुने भएको छ ।
यसैबीच भारतको उत्तर प्रदेशमा बैशाख २३ गते हुन लागेको लोक सभा निर्बाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सिमा समन्वय समितिको ५१ औं बैठकले शनिबार साँझ ६ बजेदेखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियामा नेपाल–भारत सीमा क्षेत्रमा आवगमन ठप्प हुनेगरी बोर्डर बन्द हुने भारत बहराईचका जिल्ला अधिकारी शम्भु कुमारले बाँके बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।  

Next Post

‘इ’ गाउँमा शमशानघाट बन्दै

२१ बैशाख २०७६, शनिबार ०७:२२
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिका ४ इ गाउँमा शमशानघाट निर्माण शुरु भएको छ । किरणनालामा ब्यवस्थापन समितिका अध्यक्ष उज्जवल बिसी, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर सिंह ठकुरीलगायत निर्माणमा जुटेका छन् । वडा कार्यालयले ६ लाख सहयोग गरेको छ भने स्थानीयले तीन लाख पचास हजार सहयोग संकलन गरेका छ । […]