अवैध हतियार बनाउने गुल्मीमा एक पक्राउ

२९ पुष २०७५, आईतवार १४:५२
 

सदरलाइनडटकम,
गुल्मी : घरमै कारखाना सञ्चालन गरी अवैध रुपमा हातहतियार बनाउने एक जनालाई गुल्मी प्रहरीले पक्राउ गरेको छ । गुल्मी धुर्कोट गाउँपालिका ३ हाडहाडे निवासी ५१ वर्षीय शेरबहादुर जीसीलाई घरमै अवैध रुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतवार जिल्ला प्रहरी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरी अवैध रुपमा भरुवा बन्दुक बनाउनका लागि प्रयोग हुने सम्पूर्ण सामग्रीसहित जीसीलाई सार्वजनिक गरेको छ । प्रहरीले जीसीको घरबाट बरामद गरेका अवैध सामग्रीहरुमा तीन थान भरुवा बन्दुक, मेड इन कोलकत्ता लेखिएको एकथान टोय एर गन, दुई थान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउनका लागि प्रयोग हुने ६ पिस रड, बारुद, पटका, केप, बन्दुकको टेगर, कटिङ्ग प्लेट, सटगनको खोका, ब्याट्रि, युरिया र आरन पंखालगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताउनुभयो ।
प्रहरीले विषेश सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा इलाका प्रहरी कार्यालय पुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घरमा हतियार बनाउने कारखानासहित जीसीलाई पक्राउ गरेको हो । प्रहरीले गएको साता धुर्कोट गाउँपालिका ७ निवासी कृष्ण घर्तीको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरेको थियो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासदमा राखी थप अनुसन्धान गरिरहेको बताएको छ । गत साता पनि गुल्मीको इस्मा गाउँपालिकाबाट प्रहरीले बेवारिसे अवस्थामा बोरामा बाधेर लुकाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुकसमेत बरामद गरेको थियो ।

Next Post

माघी नजिकिएसँगै थारू बस्तीमा खुशियाली (फोटो फीचरसहित )

२९ पुष २०७५, आईतवार १४:५२
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : पश्चिम तराईका थारू बस्तीमा माघीको रौनक छाएको छ । माघी पर्वको अवसरमा पश्चिम तराईका गाउँ–गाउँमा आयोजना भएका माघी महोत्सव र माघी मिलन कार्यक्रमले पश्चिम तराईका थारू बस्तीमा माघीको रौनकता थपेको हो । माघी महोत्सवले हराउँदै गएको थारू संस्कृति, संस्कार र भेषभूषा संरक्षण तथा प्रवद्र्धनमा सहयोग गरेको […]

सम्बन्धित