सदरलाइनडटकम,
काठमाण्डौ : आफूलाई तपस्वी भएको बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाढेगाउँस्थित आश्रममा प्रहरीले छानबिन सुरु गरेको छ । उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो ।
अनुसन्धान टोलीले शुक्रवार आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए । उनले फरेन्सिक टिम र विज्ञसहितको टोली खटाएर हराएका व्यक्तिको खोजी शुरु गरिएको जानकारी दिए ।
आश्रममा छापा मारेको प्रहरीले अहिलेसम्म घटनाका सम्बन्धमा कसैलाई पक्राउ नगरेको प्रवक्ता सुवेदीले बताए । मकवानपुरका सन्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोक आश्रमबाट हराएको प्रहरीमा निवेदन परेको छ ।
