कोहलपुरमा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना

सदरलाइन संवाददाता १५ असार २०८०, शुक्रबार १३:१८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले शुक्रवारदेखि आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । विपद्को अवस्थामा तत्काल उद्धार, राहत र पुनःस्थापनमा सहजता होस् भन्ने उद्देश्यले आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको कोहलपुर नगरपालिकाका वातावरण शाखा प्रमुख सुभाष पौडेलले जानकारी दिए ।

उक्त केन्द्रमा उद्धार सामग्री (लाइफ ज्याकेट, साइरन, बुट्स, लाइट्स) लगायत राखिएको छ । “नगर प्रहरीलाई समेत परिचालन गर्ने गरी केन्द्रलाई प्रभावकारी बनाइएको छ,“उनले भने–“बाढी र डुबानको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर तत्काल उद्धार, राहत र पुनःस्थापनाको तयारी गरिएको छ ।“ बाढी पूर्व सूचना प्रणालीलाई पनि बलियो बनाइएको उनको भनाई छ । “सकेसम्म क्षति नै नहोस् भन्ने हो,“ उनले भने–“घटना घटिहाले पनि कम क्षती होस् भन्ने सवालमा सूचना प्रणालीले ठूलो भूमिका निर्वाह गर्नेछ ।“

कोहलपुरमा बर्खायाममा बाढी, जाडोमा शितलहर, गर्मीमा खडेरी र आगलागी मुख्य बिपद पहिचान भएका छन् । बर्खायाममा आउने बाढी र डुवानबाट कोहलपुर वडा नम्बर २ को वनखेत, विकासनगर, प्रेमनगर, पुष्पनगर, शक्तिनगर, कृष्णनगर, बर्दहवा, वडा नम्बर ५ को श्रीनगर र उदयपुर, वडा नम्बर ६ को सुतैया टोल, बालबिधा टोल र चन्दनाथ टोल जोखिम क्षेत्र पहिचान गरिएको छ ।

यस्तै वडा नम्बर ८ को मन्नापुर भकटी, पिपरी गाउँ, वडा नम्बर ९ को भवानीपुर, गणेश टोल, मधेसी टोल, समाबेशी टोल, बबई टोल र थारु टोल, वडा नम्बर १० को कालिकानगर वडा नम्बर ११ को मुक्तकमैया टोल पनि डुवानको जोखिम क्षेत्र पहिचान गरिएका छन् ।


यस्तै वडा नम्बर १२ को सुन्दर बस्ती, शान्ति टोल, मुसरी खेत, रामजानकी, रोहिणी, जानकी नगर, स्कुल टोल र १३ नम्बर वडाको सिमरी झोलुङ्गे पुलको दायाँबायाँ, भरैया थारुगाउँ, खड्कवार नेरामाबी उत्तर बस्ती डुवानको जोखिम क्षेत्र पहिचान गरिएको छ । यी बस्तीका २ हजार ३४ घरधुरी बाढी र डुवानको उच्च जोखिममा रहेका छन् भने ८ हजार ८ सय ९२ जना प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

आपतकालीन कार्यसंचालन केन्द्र उदघाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख संगिता सुवेदीले केन्द्र सञ्चालनपछि विपद्को अवस्थामा तत्काल उद्धार, राहत र पुनःस्थापनमा सहजता हुने बताइन् । उनले विपद व्यवस्थापनका लागि पूर्व तयारी आवश्यक रहेको औंल्याए ।

वातावरण तथा विपद शाखा समिति समिति संयोजक पबित्रा थारुको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरबाट बाघको छाला र हड्डीसहित ३ जना पक्राउ

१५ असार २०८०, शुक्रबार १३:१८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, दैलेखको ठाटीकानडा गाउँपालिका वडा नम्बर ४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका वडा नम्बर ५ का नबीन कुमार कसेर, अछामको पन्चदेवल गाउँपालिका वडा नम्बर २ […]