महामारी फैलिएपछि निःशुल्क खोप अभियान

११ पुष २०७५, बुधबार १७:१६
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका–.५ कम्दीमा महिनौदेखि बाख्रामा फैलिएको अज्ञात रोग महामारी पिपिआर भएको ल्याब परीक्षणमा देखिएको छ । बाख्राको रगत नमुना संकलन गरि पशुरोग अन्वेषण प्रयोगशाला विरेन्द्रनगर सुर्खेतमा पठाएपछि गरिएको ल्याब परीक्षणका आधारमा पिपिआर रोग भएको प्रमाणित भएको हो ।
रोग प्रमाणित भएपछि सोही अनुसार औषधी उपचार शुरु भएको गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख अशोक पाण्डेले बताए । उनका अनुसार सो रोगबाट प्रभावित करीब एक सय बढी बाख्राको उपचार भईरहेको छ र बुधबारदेखि रोग नियन्त्रणमा आएको छ । शाखाबाट खटिएको पशु प्राबिधिकको टोलीले धमाधम उपचार गरिरहेको छ । रोगको पहिचान भएपछि रोग नलागेका बाख्राहरुलाई समेत खोप लगाउन थालिएको छ ।
गाउँपालिकाभित्र रहेका करीब १५ हजार बाख्रालाई पिपिआर रोगबिरुद्धको खोप दिन शुरु गरिएको शाखा प्रमुख पाण्डेले बताए । सुर्खेतस्थित प्रयोगशालाबाट मगाइएको खोप निःशुल्क लगाउने गरिएको गाउँपालिकाले जनाएको छ । विगत तीन महिनादेखि फैलिएको रोगको प्रकोपले एक साता अघि महामारीको रुपमा लिएपछि थाह भएको स्थानीय किसान बेलबहादुर बोहराले बताए ।
रोगले कम्दीका किसान कलम कुमाल, भवानी बोहरा, टिकाराम ऐरी, ललित शाही, कर्णबहादुर खडका, केवल बोहरा र सुकमाया बोहराका करीब ५० वटा खसी बाख्रा मरेका छन् । गाउँपालिकाको नानापुर, जबदहवा, डलैपुर, रंगीताललगायत गाउँमा पनि दर्जनौ बाख्रा रोगले मरेको जानकारी आएको पशु स्वास्थ्य शाखाले जनाएको छ । सबै बाख्रालाई खोप लगाइसकेपछि प्रभावित बाख्राहरुको एकिन तथ्याक आउने शाखा प्रमुख पाण्डेले जानकारी दिए । ज्वरो आउने, सिंगान र्याल छोड्ने, घाँटी सुनिने झोक्राउने र मर्ने लक्षण बाख्रामा देखिएको छ ।

Next Post

राष्ट्रीय खेलकुदको मिति पुनः सर्ने सम्भावना

११ पुष २०७५, बुधबार १७:१६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा हुने भनिएको ८ औं राष्ट्रीय खेलकुद प्रतियोगिताको मिति पुनः सर्ने सम्भावना प्रबल रहेको छ । राष्ट्रीय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बुधवार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिता सर्नसक्ने सम्भावना ब्यक्त गरे । माघ २५ देखि फागुन ३ गतेसम्म नेपालगञ्जमा प्रतियोगिताको मिति तोकिएको छ । यसअघि […]

सम्बन्धित