सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज : स्थानीय तहमा रहेका विषयगत शाखा र जिल्ला कार्यालय बीचमा समन्वय अभावको कारण किसान मर्कामा पर्न थालेका छन् । यसको पछिल्लो उदाहरण हो बाँकेको डुडुवा गाउँपालिका पशु स्वास्थ्य शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जबीच समन्वय नहुन् ।
बाँकेको डुडुवा गाउपालिका–.५ मा अज्ञात रोगबाट तीन महिना यता हजार बढी खसीबाख्रा मर्दा पनि कारण पत्ता नलाग्दा स्थानीय किसान त्रसित भएका छन् ।
आफुले पालेका खसी बाख्रा धमाधम मर्न थालेपछि कारण बुझ्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज आईपुगेका बाँके डुडुवा–५ कम्दी खजुरागाउँका केशराज कुमालले बितेका तीन महिनामा आफ्नो खोर नै रित्तिने गरी बाख्रा मर्दा कारण पत्ता लाग्न नसकेको गुनासो गरे ।
उनले भने–‘ खोरमा ३० जिउ बाख्रा थिए हेर्दा हेर्दै १२ मात्र बाँकी रहे त्यसमा पनि १–२ वटा अझै विरामी छन् । हाम्रा बाख्रा के भएर मरे कसैले केही भन्दैन ।’ उनले बाख्रालाई ज्वरो आउने, सिगान र्याल छोड्ने, घाँटी सुनिने झोक्राउने र मर्ने लक्षण बाख्रामा देखिएको बताए ।
उनले गाउपालिकामा अनेत्र पशुको बिमा गर्ने चलन रैछ हाम्रो पनि बाख्रा र पशुको विमा गरिदिनु पर्यो भन्दा आज भोली भन्दा भन्दै खोर नै रित्तो भएको गुनासो गर्दै भने–‘बिमा गर्ने भन्दा भन्दै बिमा हुन नसक्दा हेर्दा हेर्दै खोर रित्तो भयो तर, गाउपालिकाले बिमामा चासो दिएन ।’
उनीसंगै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज आएका डुडुवा–५ पदमपुरका ललित शाहीले पालेका ३५मध्ये १४ वटा, टिकाराम योगीले पालेका २२ मध्य ६, पार्वती कुमालले पालेका सबै ६ वटा,केवल बोहराको ३५ मध्ये १८ र सुकमाया बोहराले पालेको ४५ मध्य ५ वटा बाख्रा अज्ञात रोगबाट मरेको बताए ।
‘पालेका बाख्रा हर्दा हेर्दै खोर नै रित्तिने गरी भटाभट मरेर सिद्धिन थाले तर, हामीलाई हाम्रो बाख्रा के भएर मरेका हुन कसैले भन्दैनन्’– सुकमाया बोहराले भनिन–‘गाउपालिकाले निशुल्क सेवा दिने भनेर पशुकार्ड बनाई दिएको छ । बाख्रो विरामी भयो भनेर उपचारको लागि बोलाउदा आज बोलायो भोली बल्लतल्ल प्राविधिक पुग्छन ।’
उनले गाउपालिकाले खटाएका पशु स्वास्थ्यकर्मी एक पटक पुगेर यसो बिरामी बाख्रोलाई हेरेर फर्कने पछि त्यसलाई कस्तो भयो भनेर आफै नआउने खबर गरेपछि हरेक पटक फेरीएर आउने गर्दा पनि उपचार प्रभावकारी नभएको गुनासो गरिन ।‘दिनभरी बनमा चरेर घरमा आउदा राम्रै आएर खोरमा बसेको बाख्रो बिहान मरेको अवस्थामा भेटिने गर्दा अवत सबै खोर नै रित्तिने पो हो कि भन्ने डरले सताएर गाउपालिकामा रहेको पशु स्वास्थ्य शाखाको भर नलागेर नेपालगन्ज आएको हुँ’–आप्mनो बेथा सुनाउदै शाहीले भने । उनले मरेका बाख्रा सबै गाड्ने गरेको बताए ।
डुडुवा गाउपालिका पशु स्वास्थ्य शाखाका पशु चिकित्सक अशोक पाण्डेले डुडुवा गाउपालिका–५ नं वडामा बाख्रामा देखिएको रोगको एकिन नभएको बताए । उनले भने–‘पहिला पिपिआर हो कि भन्ने थियो तर, त्यस्तो लक्षण देखिएको छैन । रोग नै केहो पत्ता लाग्न नसकेको पछि किसानलाई अनेत्र जान पनि सल्लाह दिएको छु ।’ गाउपालिकामा किसनले भनेको जस्तो बाख्रा नमरेको र आफुलाई जानकारी भएसम्म करिव ३० वटामात्र मरेको बताए ।
उनले गाउपालिकाको पशु स्वास्थ्य शाखामा १० जना प्राविधिक कार्यरत रहेको र किसानले खबर गरेको आधा घण्टा भित्र आफुहरु किसानको घरमा पुगेर सेवा दिएको दाबी गरे यद्यपी किसनले भने २४ घण्टापछि मात्रै पुग्ने गरेको आरोप लगाएका छन् ।
वडा नं. ५ का वडा अध्यक्ष परसुराम बुढाथोकीले वडामा महामारीको अवस्था नभएको दावी गर्दै उनले केही दिन यता किसानले पालेका खसीबाख्रा मरेको जानकारी पाएको र त्यसको निराकरणको लागि पहल भएको बताए ।
यसैबीच भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख समेत रहेका डा. हरी बहादुर कुँवरले आफ्नो कार्यालयले बाँके र बर्दियाको सबै स्थानीय तह हेर्ने भएको जानकारी दिदै कुनै पनि स्थानीय तहले आफ्नो गतिविधिका बारेमा जानकारी दिने तथा समन्वय नगरेको बताए । उनले भने–‘जिल्लामा विज्ञ छन् तर, उनीहरुसंग कुनै पनि स्थानीय तहले समन्वय गर्दैनन् । स्थानीय तहमा गरिने कार्यक्रम र गतिविधीको बारेमा समन्वय नहुँदा एकै चोटी महामारीको अवस्था आएपछि मात्र जानकारी हुने अवस्था छ ।’ उनले स्थानीय तहले आफ्नो गतिविधि बारे जानकारी गराउदा समस्या नआउने बताए ।
‘डुडुवा गाउपालिका किसान आफ्नो समस्या लिएर आउनु भएको छ तर, गाउपालिकाले त्यहाँ भएको समस्याको बारेमा कुनै पनि जानकारी गराएको छैन’–उनले भने–‘ समस्या लिएर आउने किसानलाई सल्लाह र विरामी पशुको उपचार गर्ने तथा सम्बन्धित विषयको बिज्ञ पनि हुने भएकोले समन्वय नहुँदा समस्या आएको हो ।’